प्रचण्डको चेतावनी : कांग्रेस समाप्त भएर जान्छ

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०७५, १८ : ४९
प्रचण्डको चेतावनी : कांग्रेस समाप्त भएर जान्छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस समाप्त भएर जाने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा ‘देश किन बनेन्’ नामक पुस्तकको विमोचन गर्दै उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने कांग्रेस समाप्त भएर जाने चेतावनी दिएका हुन् ।  

प्रमुख प्रतिपक्ष दल कांग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा पनि बहस सूरु भईरहेका बेला अध्यक्ष प्रचण्डले त्यसप्रति आपत्ति जनाएका हुन् । वर्तमान संविधानको ‘पिता’ ठान्ने कांग्रेसले पार्टीका तत्कालीन सभापति सुशील कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न हिन्दु राज्यको पक्षमा बहस सुरु गरेको अध्यक्ष प्रचण्डको दावी छ ।

अध्यक्ष दाहालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मूख्य खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिँगै घर भत्काउने दुस्साहस नगर्न पनि कांग्रेस नेतृत्वलाई सचेत गराए । उनले विविधताले युक्त मुलुकमा राज्यले वा कुनै पनि पार्टीले एउटा धर्मको पक्षमा मात्रै वकालत गर्नु खतरनाक हुने तर्क पनि गरे । 

उनले कांग्रेस नेताहरुलाई बीपीले धर्मबारे के भनेका थिए, कस्तो संस्कार अपनाएका थिए र गिरिजाप्रसाद कोइराला कसरी धर्मनिरपेक्षताको पक्षमा उभिएका थिए भनेर सोच्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस