माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच ६ सहमति जुट्यो

बुधबार, ०४ पुस २०७५, १८ : ०३
माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच ६  सहमति जुट्यो

माडी । माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच ६ बुँदे सहमति जुटेको छ । आज बुधबार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति र माडी नगरपालिकाबीच भएको छलफलबाट गिटी, बालुवा तथा ढुङ्गा प्रयोगमा ल्याउन मगुई, चन्द्रे, घाँघर, बगही र चितही खोलाको रिउ किनारादेखि वन क्षेत्रभन्दा बाहिर चुरे क्षेत्रलाई प्रभाव नपर्ने गरी प्रयोग गर्न पाउने निर्णय भएको हो ।
यस्तै, चितवन राष्ट्रिय निकुञ्जबाट प्रभावितलाई बालीनालीको क्षतिपूर्तिलाई थप ब्यवस्थित बनाउन बाली बिमाका लागि नगरपालिकाले पहल गर्ने र यसमा चितवन राष्ट्रिय निकुञ्जले सहयोग गर्ने सहमति भएको माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो ।
माडी नगरपालिकाले श्रोत र साधन प्रयोग गर्न नपाउँदा माडीको सडक र माडीमा बन्ने ९ वटा पुल निर्माणमा समस्या भएको थियो । यो सहमतिबाट नगरपालिकालाई केही सहज वातावरण सिर्जना भएको छ । यसअघि पुस र माघ महिनामा नदीजन्य सामग्री प्रयोग गर्न नपाएपनि यसपटक प्रयोग गर्न सहमति भएपछि माडीमा विकासको लागि बाटो खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस