काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताउनुभएको छ ।
काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारले गरेको काममा सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढेको बताउनुभयो ।
“सरकार धेरै कुरा गर्ने काम कम गर्ने बाटोमा अगाडि बढेको छ, काम गर्न नसकेर सरकारले वुद्धिजीवीहरूलाई समेत धम्काउने काम गरेको छ” उहाँले भन्नुभयो । नेता सिंहका अनुसार सरकार जस्तो छ, संसद्मा प्रतिपक्षी पार्टी नेपाली काङ्ग्रेस पनि त्यस्तै भएका कारण मुलुकले विकासको गति लिन नसकेको हो ।
“प्रतिपक्षको उचित भूमिका निर्वाह गर्न सङ्गठित हुनु जरुरी छ,”उहाँले भन्नुभयो । सिंहले काठमाडौँ काङ्ग्रेसलाई बलियो बनाउन सबैको जिम्मेवारी रहेको बताउनुभयो । स्वर्गीय बज्राचार्य पार्टीका लागि कुशल सङ्गठक भएको उहाँले बताउनुभयो ।
काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “बज्राचार्यले दुईपटक वडाअध्यक्ष भएर काठमाडौँको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो, बज्राचार्यको कार्यशैलीबाट काङ्ग्रेसले पाठ सिक्नुपर्छ,”उहाँले भन्नुभयो ।
काठमाडौँ काङ्ग्रेस सभापति सबुज बानियाँले काठमाडौँको काङ्ग्रेसको सङ्गठन निर्माणमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । विसं २०११ चैत ११ गते काठमाडौँमा जन्मनुभएका बज्राचार्यको मस्तिष्कघातबाट विसं २०७४ मङ्सिर १ गते ६३ वर्षको उमेरमा निधन भएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस