नेकपा प्रदेश कमिटीले पायो पूर्णता (सूचीसहित)

सोमबार, १७ मंसिर २०७५, १९ : २८
नेकपा प्रदेश कमिटीले पायो पूर्णता (सूचीसहित)

काठमाडौँ (रासस)  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । 
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । 

पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १२२ र माओवादी केन्द्रका तर्फबाट ८५ सदस्य छन् । 

प्रदेश नं २ मा २१५ जनाको प्रदेश कमिटी गठन हुनेछ । त्यसमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट समान १०६ जना रहनेछन् भने पार्टी एकतापछि प्रवेश गरेका तीन जनालाई समेत कमिटीमा अटाइएको छ । 

प्रदेश नं ३ मा तत्कालीन एमालेबाट ११६ र माओवादी केन्द्रबाट १०१ गरी कूल २१७ जना सदस्यीय प्रदेश कमिटी रहनेछ । यस्तै गण्डकी प्रदेश कमिटीको सङ्ख्या १८७ रहनेछ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १०२ र माओवादी केन्द्रका तर्फबाट ८५ जना सदस्य रहेका छन् । 

प्रदेश नं ५ को कमिटी २०३ सदस्य बन्ने भएको छ । त्यसमा तत्कालीन एमालेका १०६ र माओवादी केन्द्रका ९७ सदस्य छन् । 

आज सार्वजनिक गरिएको नामावलीमा कर्णाली प्रदेशमा तत्कालीन एमालेका तर्फबाट ८७ र माओवादी केन्द्रका ८८ जना अटाएका छन् । सो प्रदेश कमिटी १७५ सदस्यीय छ । सुदूर पश्चिम प्रदेश कमिटी १८३ सदस्यीय बनेको छ । त्यसमा तत्कालीन एमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना अटाएका छन् । 

सूचीको लागि तलको लिंकमा क्लिक गर्नुहोस्,  

https://drive.google.com/file/d/0B2frXyQGdN-kZTFtRnFMMGNla1ctRDcyWlRoUVh2R1NyWFdF/view

प्रतिक्रिया दिनुहोस