प्रकाश दाहालको चर्चित लेखः स्मरण होस् ! म प्रचण्डको लडाकु कार्यकर्ता हुँ

मंगलबार, ०४ मंसिर २०७५, १३ : ५७
प्रकाश दाहालको चर्चित लेखः स्मरण होस् ! म प्रचण्डको लडाकु कार्यकर्ता हुँ

प्रकाश दाहाल  मेरो नाम प्रकाश दाहाल हो । नेकपा मोआवादी केन्द्रको अधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्य । यसबाहेकका अन्य परिचय गौण छन् । मेरो व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडि गौण छन् । म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ ।


यी प्राथमिक परिचयबाहेक अन्य परिचय मेरा लागि गौण छन् । तर, पुरै समाजले त्यसलाई प्रधान परिचय र मेरा सङ्घर्षका मैदानहरुमा दिएको योगदानलाई माध्यमिक परिचयका रुपमा अपव्याख्या गरिरहेका छन् । हो, म पुष्पकमल दाहालको छोरा हुँ । तर, म प्रचण्डको एउटा लडाकु कार्यकर्ता हुँ ।

म पुष्पकमल दाहाललाई बुवाका रुपमा अगाडि उभ्याउँछु, प्रचण्डका अघि नेकपा माओवादी केन्द्रको एउटा सदस्यका रुपमा उभिएको छु । समयचक्रका कारण म अध्यक्षको वरिपरि नै धेरै खटिएको थिएँ । जतिबेला अध्यक्ष प्रचण्डलाई राज्य र अन्तर्राष्ट्रिय जगतले पनि रेडकर्नर नोटिस जारी राखेको थियो त्यसबेला उहाँको सुरक्षा अङ्गका रुपमा मैले लामो समय काम गरेको छु ।

उकाली ओराली, भञ्ज्याङ चौतारी र विभिन्न युद्धमा मेरो उहाँसँग निरन्तर सहयात्रा छ । हाम्रा लागि संविधानसभा, परिवर्तन हरेक जाति, वर्ग र समुदायको राजनीतिक उत्थान प्रधान हुँदाको लडाइँ प्रधान हो । हामी युद्धकालमा पनि यही लडाइँमा निरन्तर लागिरहेका थियौं । जसका केही उपलब्धि भए, त्यसको संस्थागत काम गर्नका लागि अहिले पनि लागिरहेका छौं । नेकपा माओवादी केन्द्रको एउटा साधारण योद्धाका रुपमा म यी सबै कुरा गरिरहेको छु ।

मलाई लाग्ने गरेको आक्षेपका पछाडि म दौडन चाहन्नँ तर, यी आक्षेपहरु कुन नियतका आधारमा लागिरहेका छन् भन्ने कुरामा मेरो दृष्टि छैन भन्ने चाँही होइन् । त्यसकाविरुद्धमा मेरा प्रतिक्रियाहरु मात्रै नआएका हुन् । शान्ति प्रक्रिया हुँदै नेपाली सरल राजनीति, मुल राजनीतिको केन्द्रबिन्दुमा आएपछि प्रचण्डलाई प्रहार गर्ने योजनाका आधारमा अनेक कोणबाट मेरो नाममा नकारात्मक टिप्पणी हुन थाल्यो ।

स्मरण होस्, हामी पनि चन्द्रबाट झरेका होइनौं । साधारण परिवारका मानिस हौं । जो सधैं साधारण अधिकारका लागि निरन्तर लडिरहेको थियो । यसमा मेरो नाम जोडेर प्रचण्डमाथि किन प्रहार ? अथवा प्रचण्डको नाममा ममाथि किन प्रहार ? जीवनको एउटा उर्जाशील समयमा मलाई आक्षेप लगाउने साथीहरुले राजनीतिक मुनाफा लिएर वा अन्य अवसरको उपभोग जसरी गरिरहेका थिए, म युद्धको मैदानमा थिएँ ।

हजारौं सदाहत पाएका योद्धाहरुको भीडमा बन्दुक बोकेर राज्य र तानाशाहीविरुद्धको अभियानमा सक्रिय भएको थिएँ । यसको नजरअन्दाज गरी प्रकाश दाहालको परिचय पुष्पकमल दाहाल प्रचण्डको छोराको रुपमा मात्र गरिन थालियो । हो, म प्रचण्डको छोरो अवश्य हुँ । तर, त्यसबाहेक म माअ‍ोवादीको निरन्तर सहयात्रामा जनयुद्धकालदेखि लागेको योद्धा पनि हुँ । मैले जतिबेला बन्दुक बोकेर जीवनलाई मृत्युको धारमा हिँडाएको थिएँ । त्यसबेला कोही कसैले प्रचण्ड वा प्रकाशको जीवनबारे चर्चा गहन रुपमा गरेन तर, यो परिवेशमाथि मेरो केही विरोध वा समर्थन छैन् ।

समाजको व्याख्या गर्ने एउटा दृष्टि हुन्छ । मान्छेका व्यक्तिगत कुरामा कहिले सही र कहिले गलत हुन सकिन्छ । समाजको हेर्ने दृष्टिकोण र मान्छेको जीवनको दृष्टि फरक हुनसक्छ । त्यसमा प्रत्येक व्यक्तिका प्रश्नको उत्तर दिँदै वा खण्डन गर्दै हिँड्न सकिन्न । मैले त्यसो गर्नु पनि ,आवश्यक ठाँनिनँ । तर, यसको अर्थ यो होइन कि मेरो बारेमा हुने अनेक टिप्पणीसँग म जानकार छैन ।

म जानकार छु र त भन्दैछु, ‘बुबा प्रधानमन्त्री बन्नु उहाँको राजनीिितक जीवनको चक्रले दिएको अवसर भएँझैं म त्यो सचिवालयमा उहाँको छोराका हिसाबले होइन, सहयोद्धाका हिसाबले भएको हुँ ।’

मेरो विषयमा विभिन्न टिकाटिप्पणी गरी सामाजिक सञ्जाल र चिया पसलहरु फोहोर बनाउने साथीहरुलाई एउटा प्रश्न ‘परिवर्तनका लागि हामी मर्न तयार हुँदा, म बन्दुक बोकेर हिँड्दा कहाँ थियौं साथी ?’ परिवर्तन यत्तिकै भएको होइन । परिवर्तनका लागि मृत्युलाई अँगालेर हिँड्न सक्नुपर्छ ।

अवसरसँग बाह्रैकाल नजिक हुने तर जब सङ्घर्ष गरेकाहरुले काम गर्ने मौका आउँछ, त्यसबेला वायिात कुरामा अल्झने साथीहरुले तथ्यलाई केलाएर अघि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु । मुलुक निर्माणका लागि जसले जहाँ जसरी टिप्पणी गरिहे पनि मेरा यात्राहरु निरन्तर अध्यक्षको सहयोगमा अघि बढ्नेछन् । मुलुक निर्माणका लागि जसले जहाँ जसरी टिप्पणी गरिरहे पनि मेरा यात्राहरु निरन्तर अध्यक्षको सहयोगमा अघि बढ्नेछ भन्नेमा शङ्का छैन् ।

यसर्थ, मेरो विरोधमा अक्षरहरुको थुप्रो लगाउनेहरुसँग गुनासो गर्नुको साटो सुझाव दिन्छु‘ती फगत शब्दहरुको थुप्रो सिर्जनात्मक कामका लागि उपयोग गरे कसो होला ?’

प्रतिक्रिया दिनुहोस