काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जातजातिलाई भन्दा युवा पुस्तालाई राजनीतिमा आरक्षण दिइनुपर्नेमा जोड दिनुभएको छ ।
सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘म र साहित्य’ विषयक छलफल कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दैै उहाँले ६० प्रतिशतभन्दा बढी ४० वर्षमुनिका युवा भए पनि राजनीतिमा उपयुक्त अवसर पाउन नसकेको बताउनुभयो ।
“पार्टीमा रक्तसञ्चार गराउन युवालाई अघि सार्नुपर्छ, पुराना नेतासँग अनुभव हुन्छ, अनुभव ग्रहण गर्दै युवा राजनीतिमा सक्रिय हुनुपर्छ ।” उहाँले भन्नुभयो, “पार्टीको केन्द्रीय समिति, विभाग र अन्य तहमा युवालाई अघि बढाउनुपर्छ ।” दुई तिहाइ बहुमतको सरकारले ठोस योजना ल्याउन नसकेको उहाँको आरोप छ । उहाँले सामाजिक सञ्जालमा भन्दा साहित्यिक कृति पढ्नमा समय दिन युवा, विद्यार्थीलाई आग्रह गर्नुभयो ।
महामन्त्री कोइरालाले आदेश आचार्यले लेख्नुभएको ‘पारानोइया’ पुस्तकको विमोचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरु भुवन ढुङ्गाना, तोया गुरुङ, रामकुमार पाँडे, धीरेन्द्र प्रेमर्षि, नायिका मनीषा कोइराला, फाउन्डेसनका सचिव अतुल कोइराला लगायतले सामाजिक सञ्जाललाई किताबको विकल्पका रुपमा प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस