राससलाई थप विश्वसनीय समाचार संस्थाका रुपमा विकास गर्नुपर्छ  : गगन थापा

विहीबार, २९ कार्तिक २०७५, १७ : ५९
राससलाई थप विश्वसनीय समाचार संस्थाका रुपमा विकास गर्नुपर्छ  : गगन थापा

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले राष्ट्रिय समाचार समिति (रासस) लाई थप विश्वसनीय समाचार संस्थाका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनका अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले राससलाई सरकारीभन्दा सार्वजनिक सञ्चारमाध्यमका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । “ रासस थप विश्वसनीय सार्वजनिक संस्था हुनुपर्छ”, उहाँले भन्नुभयो । 

सांसद थापाले रासस नेपालको महत्वपूर्ण सञ्चार संस्था भएकाले यसलाई समृद्ध बनाउँदै लैजानुपर्ने बताउँदै यहाँबाट उत्पादित समाचारलाई व्यावसायिक, विश्वसनीय र भरपर्दो बनाउन सुझाव दिनुभयो । प्रजातान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कुरा हुन नसक्ने उहाँको भनाइ थियो । 

नेता थापाले काङ्ग्रेसले संविधान कार्यान्वयनमा सरकारलाई सहयोग गर्ने बताउँदै देश र जनताको हित नहुने विषयमा सधँै खबरदारी गरिने स्पष्ट पार्नुभयो । आन्दोलनको उपलब्धि पूरा गर्न र समृद्ध मुलुक निर्माण गर्न सरकार लाग्नुपर्ने उहाँको भनाइ थियो । संविधानको सफलता नै आफ्नो सफलता हो भनेर अगाडि बढे मात्र सरकार सफल हुने उहाँले बताउनुभयो । 

सो अवसरमा नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्यले राससलाई निष्पक्ष समाचार सम्प्रेषण गर्ने थलोको रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने गरी ऐन आएको भन्दै यसलाई नसच्याए प्रेस युनियन देशव्यापी आन्दोलनमा जाने स्पष्ट पार्नुभयो । 
राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससका सबै सङ्घसंस्था राससलाई बलियो लाग्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल प्रेस युनियन तथा राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले राससले व्यावसायिक पत्रकारको उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तुफानले श्रमजीवी पत्रकारको हकहितमा लाग्न प्रेस युनियनलाई सुझाव दिनुभयो । 

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले गत भदौ १ देखि लागू भएको मुलुकी संहिताले प्रेस स्वतन्त्रतालाई कमजोर बनाएको छ भन्दै यसका विरुद्धमा सबै पत्रकार लड्नुपर्ने बेला आएको बताउनुभयो । 

शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनियन रासस प्रतिष्ठान शाखाका उपाध्यक्ष मोहनी मिश्रलगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । विसं २०४८ मा स्थापना भएको युनियनको राससमा भने तेस्रो अधिवेशन गरिएको शाखा कोषाध्यक्ष पवित्रा गुरागाईंले जानकारी दिनुभयो । अधिवेशनले आजै नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।(रासस) 

प्रतिक्रिया दिनुहोस