अबको आन्दोलन विकास र उत्पादनका लागि : जनार्दन शर्मा

सोमबार, २६ कार्तिक २०७५, १८ : ४६
अबको आन्दोलन विकास र उत्पादनका लागि : जनार्दन शर्मा

रुकुम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले अबको आन्दोलन विकास र उत्पादनको भएको बताउनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले राजनीतिक आन्दोलन पूरा भएको बताउनुभयो । 

“नेपालमा लामो समय राजनीतिक आन्दोलन चल्यो र निष्कर्षमा पुग्यो”, उहाँले भन्नुभयो, “अबको आन्दोलन भनेको विकास र उत्पादनको हो ।” विकास र उत्पादनसँगसँगै अगाडि बढ्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । 

त्यस्तै उहाँले यस आन्दोलनको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभएको छ । युवाको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने उहाँको भनाइ छ । “युवाहरु देशका खम्बा हुन्, उनीहरुलाई स्वदेशमै श्रम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ, युवाहरु लागे भने देशले समृद्धि हासिल गर्न समय लाग्दैन”, उहाँले भन्नुभयो । 

राजनीतिक आन्दोलनलाई सफल पार्नका लागि जनताले जीउज्यान दिएर सहयोग गरेको र अब विकास र उत्पादनको आन्दोलनलाई सफल पार्न पनि त्यसैगरी लाग्नुपर्ने बताउनुभयो । पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले आजैबाट विकास र उत्पादनको आन्दोलनमा जोडिन सबैसामु अपिल गर्नुभयो । उहाँले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेशका रुपमा विकास गर्न कर्णाली प्रदेश लागेको जानकारी गराउँदै सरकारको यस अभियानलाई पनि ध्यानमा राखेर उत्पादनमा जोडिन आग्रह गर्नुभयो । 

प्रतिनिधिसभाका सांसद समेत रहनुभएका नेता शर्माले पर्यटनलाई पनि उत्पादनसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । प्रकृतिले निःशुल्क रुपमा दिएका पर्यटकीयस्थलको सुन्दरतालाई बेचेर त्यसलाई उत्पादनसँग जोड्नुपर्ने उहाँको सुझाव छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस