समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष प्रचण्ड

बुधबार, २१ कार्तिक २०७५, १६ : १३
समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । 

प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित हुने बताउनुभयो । सङ्घीयतालाई सफल र प्रभावकारी बनाउन सबैको सहयोग, सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उहाँले जनताले अनुभूति गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिनुभयो । 

संविधानले व्यवस्था गरेअनुरुप असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनाका साथै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन वर्तमान सरकार सफल भएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय जगत्मा राजनीतिक परिवर्तन भएसँगै पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसात् गर्ने कर्मचारी ल्याउने गरेको बताउँदै उहाँले भन्नुभयो, “नयाँ संरचनाअनुरुप सरकारलाई सहयोग गरी सङ्घीय गणतन्त्रलाई बलियो बनाउनु पर्दछ ।”  (रासस) 

प्रतिक्रिया दिनुहोस