तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षति : अध्यक्ष प्रचण्ड

आइतबार, १८ कार्तिक २०७५, १७ : ०५
तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षति : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आज अपरान्ह दिवंगत हुनुभएका मानव अधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । अध्यक्षले उपचारमा सम्लग्न चिकित्सकहरुसँग उहाँको पछिल्लो स्वास्थ्यस्थितिको बारेमा जिज्ञासा राख्नु भएको थियो । 
उपचारमा सम्लग्न चिकित्सकहरुले अस्पतालमा ल्याउँदाण् उहाँ अचेत भइसक्नु भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भएको थियो । 

अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताउनु भयो । उहाँ जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवर्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्नुहुने पात्र भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, “उहाँले नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्तकर्ताका रुपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”

त्यसैगरी अध्यक्षले एक शोक विज्ञप्ती जारी गर्दै पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्ति प्रक्रिया र संविधान निर्माणमा तुलाधरले खेल्नुभएको भूमिका सदा स्मरणीय रहेको बताउनुभयो ।

अध्यक्षद्वारा जारी विज्ञप्ती
मानव अधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको आज दिउँसो निधन भएकोमा अत्यन्त मर्माहत भएको छु । 

पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिका सदा स्मरणीय छ । पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवि दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस