किम जोंग र म प्रेममा छौं– डोनाल्ड ट्रम्प

एजेन्सी

सोमबार, १५ असोज २०७५, १२ : ५५
किम जोंग र म प्रेममा छौं– डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनसँग एक अर्काको प्रेममा रहेको बताएका छन् । पछिल्लो समय अमेरिकाको उत्तर कोरियासँग सम्बन्ध सुध्रिएको उनले बताए । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रियुटर्सका अनुसार अमेरिकी राष्ट्रपतिले द्विपक्षीय सम्बन्ध युद्धबाट अब प्रेममा परिणत भएको बताएका छन् । वेस्ट भर्जिनियाको एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने ‘किम जोंग उनले मलाई अत्यन्त आत्मिय पत्र लेखे र त्यसपछि हामी दुई एकअर्काको प्रेममा पर्यौं ।’

२०१८ को जुनमा उत्तर कोरियाली नेता किम जोंग उन र डोनाल्ड ट्रम्पका बीचमा सिंगापुरमा भेटवार्ता भएको थियो । यस समयमा दुवै नेतृत्वले सँगै काम गर्ने इच्छा व्यक्त गरेका थिए । तर यस विषयमा अहिलेसम्म खासै प्रगति भएको छैन । अगस्टमा उत्तर कोरियाले परमाणु हतियारमाथि अमेरिकाले लगाएको प्रतिबन्धको निन्दा गरेको थियो । 

यो भन्दा पहिला अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले उत्तर कोरियाले पारमाणविक र क्षेप्यास्त्रका कार्यक्रमहरुलाई जारी राखेको आरोप लगाएको थियो ।  

प्रतिक्रिया दिनुहोस