नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १३ : २९
नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य

काठमाडौँ । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनायो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६२ रनको योगदान गरे । आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे । कुशल मल्ल २० रन बनाउँदै पेभेलियन फर्किए । भीम सार्कीले १७ रन बनाए । पवन सर्राफ १५ रनमा आउट भए ।

नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि २७ रनको योगदान गरे । रिजन ढकालले चार रन जोडे । उनी नवौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए । इश्वर सोहीले साहिद अहमदजाईद्वारा क्याच गराए ।  

सूर्य तामाङले ३२ बलमा अविजित १० रन बनाए । ललित राजवंशी अन्तिम ओभरको अन्तिम बलमा अन्तिम विकेटका रुपमा पेभेलियन फर्किए । उनले एक रन बनाए । उनी रनआउट भएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सूर्य र रिजनको यो ‘डेब्यू’ खेल हो ।

नेपालले अतिरिक्त रुपमा १४ रन पायो । क्यानडाका बलर उदय भगवानले तीन विकेट लिए । साद बिन जाफर र ईश्वरजोत सोहीले दुई–दुई विकेट हात पारे । साहिद अहमदजाई र हर्ष ठाकेरले पनि एक–एक विकेट लिए ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । विकेटकिपर ब्याट्सम्यान आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धलिवलद्वारा क्याच गराएका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको थियो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए । रोहित आउट हुँदा नेपालले १४.३ ओभरमा ७१ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ६२ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । कुशल भुर्तेलले १३.४ ओभरमा ४४ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए ।

कुशल भुर्तेल क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान पनि बनेका छन् । कुशल भुर्तेलको विकेट क्यानडाका बलर साद बिन जाफरले लिएका थिए । जाफरले उनलाई विकेटकिपर श्रेयस मोभाद्वारा स्टम्पिङ गराएका थिए । १८.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ९८ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २६ बलमा दुई चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर साद बिन जाफरले एलबीडब्लूको धरापमा पारेका थिए । २२.३ ओभरमा भीम आउट हुँदा नेपालले एक सय १२ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । उनी ३२ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । हर्ष ठाकरले लिए । ठाकरले उनलाई निकोलस किर्टनद्वारा क्याच गराएका थिए । २९.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४१ रन बनाएको थियो ।  

नेपालले छैटौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । उनी ३८ रन बनाउँदै आउट भएका थिए । उनले ५० बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर उदय भगवानले बोल्ड गरेका थिए । ३८.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७३ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रुपमा पवन सर्राफलाई गुमाएको थियो । उनी ३४ बलमा एक चौकाको मद्दतले १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई क्यानडाका बलर साहिद अमहदजाईले एलबीडब्लूको धरापमा पारेका थिए । ४१.१ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८१ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा सामपाल कामीलाई गुमाएको थियो । उनी २७ रन बनाउँदै आउट भएका थिए । उनले २३ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर उदय भगवानले परगत सिंहद्वारा क्याच गराएका थिए । ४८.५ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय १८ रन बनाएको थियो ।

क्यानडाविरुद्धको पहिलो खेलमा नेपालका दुई ब्याट्सम्यान रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृंखला हुनेछ । नेपाल र क्यानडाबिचको दोस्रो खेल शनिबार खेलिने छ । 

प्रतिक्रिया दिनुहोस