काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा एपीएफ क्लबले आफ्नो विजयी यात्रा जारी नै राखेको छ ।
हालसम्म पाँच खेल खेलेको एपीएफ क्लबले पाँच खेलमै जित हात पारेको छ । एपीएफ क्लब १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । पाँच खेल खेलेको कर्णाली प्रदेशले भने आफूले खेलेका सबै खेलमा हार ब्यहोरेको छ । कर्णाली प्रदेश सबै खेलमा पराजित हुने एकमात्र टोली हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो ।
कर्णाली प्रदेशका कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । कर्णालीका तीन ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके । कप्तानसमेत रहेकी ओपनर किरण कुँवर एक रनमै आउट भइन् भने अर्की ओपनर तृषणा विश्वकर्माले १९ रन जोडिन् । तृषणाले १९ बलमा तीन चौका हिर्काइन् ।
निकिता धमला शून्य रनमै आउट भइन् भने बिना थापाले दुई रन जोडिन् । बिमला बुढाथोकी पनि शून्य रनमै पेभेलियन फर्किइन् । गौरी बोहराले १२ रन बनाइन् । उनले आठ बलमा दुई चौका पनि हिर्काएकी थिइन् ।
रश्मी खड्काले १० रन जोडिन् । अञ्जु गुरुङले अविजित ६ रन बनाइन् । निलम शाही शून्य रनमै पेभेलियन फर्किइन् । कर्णालीले अतिरिक्त रुपमा १८ रन पाएको थियो । एपीएफ क्लबका बलर करुण भण्डारी एक्लैले चार विकेट लिइन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल १३ रन खर्चिइन् । सुमन बिष्टले दुई तथा बिनु बढा र सीता रानामगरले एक–एक विकेट हात पारे ।
त्यसअघि एपीएफ क्लबका लागि ओपनर ब्याट्र राजमती ऐरी र ममता चौधरीले एक सय १७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ममताले टोलीका लागि ६२ रनको योगदान गरिन् । रन आउट भई पेभेलियन फर्किनुअघि उनले केवल ५५ बलको सामना गरी आठ चौका पनि हिर्काइन् ।
राजमतीले पनि टोलीका लागि अर्धसतकीय पाली खेलिन् । उनले टोलीको खातामा ६७ रन थपिन् । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल ५५ बलको सामना गरी दुई छक्का र नौवटा चौका पनि प्रहार गरिन् ।
एपीएफका लागि रोमा थापाले पनि अविजित १४ रनको योगदान गरिन् । उनले नौ बलमा दुई चौका प्रहार गरिन् । मञ्जु बोकाटी एक रनमा अविजित रहिन् । एपीएफ क्लबले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो । कर्णाली प्रदेशका कुनै पनि बलर प्रभावकारी देखिएनन् । तृषणा विश्वकर्माले एक विकेट लिइन् । अधिकांश बलरले २५ भन्दा बढी रन खर्चिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १२ : ४३
लेखकबाट थप