गैँडाकोट । गैँडाकोटमा सञ्चालन भएको अन्तर कलेज टी -२० क्रिकेट प्रतियोगिताको उपाधि अक्सफोर्ड कलेज गैँडाकोटले उचालेको छ । चितवन र नवलपुरका ३३ वटा कलेजलाई पछि पार्दै आयोजक अक्सफोर्डले उपाधि उचालेको हाे ।
गैँडाकोट नगरपालिका वडा नं. ९ स्थित नवजागरण खेल मैदानमा भएको फाइनल प्रतिष्पर्धामा नवलपुरको देवचुली माविलाई ८ विकेटले हराउदै अक्सफोर्डले आफुलाई प्रथम स्थानमा राख्न सफल भयो । टस जितेर पहिले ब्याटिङ गरेको देवचुलीले निर्धारित २० ओभरमा आफ्ना सबै विकेट गुमाउदै ११० रन बनाएको थियो । १११ रनको विजयी लक्ष्य सहित ब्याटिङमा उत्रिएको अक्सफोर्डले जम्मा २ विकेटको क्षतिमा ११२ रन बनाएको थियो ।
प्रतियोगिताको विजेता अक्सफोर्ड कलेजले नगद ५० हजार सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देवचुली माविले नगद २५ हजार सहित शील्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा अक्सफोर्ड कलेजका सिजल श्रेष्ठलाई म्यान अफ द म्याच, प्रवेश भण्डारीलाई बेष्ट ब्याट्स मेन, दिपेन्द्र आचार्यलाई बेष्ट बलर र सुवासचन्द्र दवाडीलाई म्यान अफ द सिरिज बाट सम्मान गरियो ।
विजेता, उपविजेता तथा तथा उत्कृष्ठ खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी तथा विशिष्ट अतिथी अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा विजेता र उपविजेता हुने दुवै समूहका ४० जनाको लागि मौलाकाली केवलकारले निशुल्क टिकट उपलव्ध गराएको थियो । केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले विजयी टिमका प्रतिनिधीलाई टिकट प्रदान गर्नुभयो ।
प्रतियोगिताका संयोजक सुवास दवाडीको अध्यक्षतामा भएको समापन समारोहमा मन्तव्य राख्दै गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले खेलले देशलाई चिनाउने भन्दै आगामी दिनमा समेत यस्ता प्रतियोगिताहरु आयोजना हुनुपर्ने बताउनु भयो । उहाँले नगरमा खेलकुदको विकासका लागि आफुले पहल गरिरहेको समेत बताउनुभयो ।
कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले ३३ प्रतिष्पर्धीलाई उछिनेर कलेजले पहिलो स्थान हाँसिल गरेकोमा खुसी व्यक्त गर्दै सबै विद्यार्थीहरु बधाईको भागिदार भएको बताउनुभयो ।लामो दिनसम्म प्रतियोगिता सञ्चालन गर्दा कुनै समस्या र विवाद रहित तवरले प्रतियोगिताको संयोजन गरेकोमा विई सातौँ सेमेस्टरका विद्यार्थीलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । अक्सफोर्ड कलेज शिक्षामा मात्रै होईन खेलकुदमा समेत अव्वल रहेको कुरा विद्यार्थीहरुले प्रमाणीत गरेको उहाँले बताउनुभयो । कार्यक्रममा कलेजका विद्यार्थी शिशिर कुंवर, प्राध्यापक कृष्णहरी पौडेल, इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख हस्त बहादुर सुनार लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, २१ : ११
लेखकबाट थप