प्रधानमन्त्री कप महिला क्रिकेट : बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, १३ : ०६
प्रधानमन्त्री कप महिला क्रिकेट : बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन भएको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गरेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो ।मधेश प्रदेशका लागि पूजा महतोले ३५ र अनुराधा चौधरीले २१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजाले ४५ बलमा चार चौका प्रहार गरेकी थिइन् ।

ओपनर अनुराधाले भने २८ बलमा तीन चौका प्रहार गरिन् । यसदेखि वाहेक प्रतिमा शाहले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । उनले २० बलमा अविजित १५ रन जोडिन् । अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् ।अन्य ब्याट्रले ब्यक्तिगत रुपमा बनाएभन्दा बढी रन मधेश प्रदेशले अतिरिक्त रुपमा पाएको थियो ।

मधेश प्रदेशले अतिरिक्त रुपमा सात रन पायो । बागमती प्रदेशका बलर अस्मिना कर्माचार्यले दुई र मनिषा उपाध्यायले एक विकेट लिए । अस्मिना प्लेयर अफ दी म्याच घोषित भइन् ।त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १७ रन बनाएको थियो ।

बागतमी प्रदेशका लागि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । पाँचौँ नम्बरका क्रिज समाल्न आएकी यशोदा बिष्टले अविजित ४७ रन बनाइन् ।यशोदाले केवल ३९ बलको सामना गरी ६ वटा चौका पनि हिर्काइन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी अस्मिना कर्माचार्यले पनि टोलीका लागि ३० रनको योगदान गरिन् । कप्तानको भूमिकामा समेत रहेकी उनले ३१ बलमा तीन चौका प्रहार गरिन् ।

बागमती प्रदेशले केवल ४५ रनको कुल स्कोरमा चार विकेट गुमाएको थियो । त्यसपछि यशोदा र अस्मिनाले नै बागमतीको पाली समालेका थिए । ओपनर हेलिसा गुरुङले १२ रन बनाइन् । अर्की ओपनर कञ्चन श्रेष्ठ आठ रनमै आउट भइन् ।

अस्मिता खरेलले खातासम्म खोल्न सकिनन् भने सोनी पाख्रिन तीन रनमै पेभेलियन फर्किएकी थिइन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । मधेश प्रदेशका लागि पूजा महतोले दुई र कविता गौतमले एक विकेट लिइन् । प्रधानमन्त्री कपमा सातवटै प्रदेशको टोलीका अतिरिक्त एपीएफ क्लबको पनि सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस