काठमाडौं। १७ औं संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।भृकुटीमण्डपस्थित फुटसल कोर्टमा मंगलवार भएको खेलमा प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले एक/एक गोल गरेका थिए ।
पहिलो र दोस्रो गोल सांसद सापकोटाले, तेस्रो गोल सांसद श्रेष्ठले तथा चौथो गोल सांसद शर्माले गरेका थिए । प्रतिनिधिसभाको टोलीको नेतृत्व सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।
प्रतिनिधिसभाको टोलीमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा राना, सांसदहरु सापकोटा, श्रेष्ठ, शर्मा, मनिष झा, प्रदीप यादव र तारामान लामा थिए भने राष्ट्रियसभाको टोलीमा अध्यक्ष तिमिल्सिनासहित रमेशजङ्ग रायमाझी, गोपी अछामी, मायाप्रसाद शर्मा, डा खिमलाल देवकोटा, भैरवसुन्दर श्रेष्ठलगायत सहभागी भएका थिए ।
सो अवसरमा सभामुख घिमिरेले संसद् सेवा दिवसलाई मैत्रीपूर्ण फुटबल खेलेर उत्सवका रुपमा मनाउन लागिएको प्रतिक्रिया दिए । ‘नेपालमा फुटसलको विकास भएको केही समय भयो, सानो ठाउँमा पनि फुटबलको अभ्यास गर्न सकिने भएकाले आफूहरू खेल प्रवर्द्धन गर्न र युवायुवतीलाई उत्साह प्रदान गर्न सहभागी भएका हौं’, उनले भने ।
राजनीति र फुटसल एकै प्रकारको भएको उल्लेख गर्दै उनले फुटसल भौतिक रुपमा र राजनीति विचारका रुपमा खेलिने बताए ।राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले देशको चौतर्फी विकासका लागि खेल महत्वपूर्ण विधा भएको र यसले समूहमा काम गर्न तथा अनुशासन कायम गर्न सहयोग मिल्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १३ : १५
लेखकबाट थप