कांग्रेसभित्र नेता तानातान : को कसको गोजीमा ?

सोमबार, ११ भदौ २०७५, १२ : ४२
कांग्रेसभित्र नेता तानातान : को कसको गोजीमा ?


काठमाडौँ । आगामी महाधिवेशनको लागि कांग्रेसभित्र नेता तानातानको खेल सुरु भइसकेको छ । कुन गुटमा को रहने ? को कसको विरुद्धमा लाग्ने, कसले कसलाई सघाउने कांग्रेसभित्रको यस्तो खेल सतहमा देखिएको छ । 
पछिल्लो समय नेता रामचन्द्र पौडेल सभापति देउवासँग सम्झौता गर्दै अघि बढिरहेका छन् । पौडेल देउवासँग लम्पसार नै परेको एकथरी नेताहरुले आरोप लगाइरहेका छन् । हुनपनि पछिल्लो समय नेता पौडेल देउवासँग गोप्य सहमति कायम गर्दै अघि बढिरहेका छन् । उनले पाटीभित्र विभिन्न विभागमा आफ्ना मान्छेहरु भर्ती गर्दै देउवासँग नयाँ समझदारी कायम गर्दै अघि बढिरहेका छन् ।
कुनै समय वारपारमा रहेका पौडेल र देउवा अहिले एउटै किनाराजस्ता भएका छन् । दुबै अँगालिएका छन् । पौडेल पक्षका एक नेताले आगामी महाधिवेशनमा सभापति पाउने लोभमा नेता पौडेलले देउवासँग सम्झौता गरेको आरोप लगाएका छन् । पौडेल देउवासँग लहसिएका देख्दा पौडेल पक्षका कतिपय नेता नै अचम्मित भएका छन् भने कतिपय लोभलालचमा पौडेल परेको बताएका छन् । 
पौडेलले देउवासँग सम्झौता गरेको सुईंको पाएपछि कोइराला परिवारमा ठूलै हल्लाखल्ला भएको छ । आगामी महाधिवेशनमा कोइराला परिवारबाट एक जना नेतृत्वको लागि दावी गर्ने बताइरहँदा पौडेल देउवासँग निकट भएको देखेपछि हल्लाखल्ला भएको हो ।
आगामी महाधिवेशनमा कोइराला दाजुभाईमध्ये एकजना मैदानमा उत्रिनेसम्मको पूर्व घोषणा उनीहरुले गरिसकेका छन् । यसमा नेतृ सुजाता कोइरालाले समेत साथ दिएकी छिन् । नेता शेखर त अहिले यही उद्देश्यले देश दौडाहामा छन् । कोइराला दाजुभाइ र सुजताको यसअघि मिलेर जाने र एकले नेतृत्व लिने भन्दै फोटो नै सार्वजनिक गरेका थिए । 
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आफ्नै गुटका वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ छोडेका छन् । उनी कोइराला परिवारसँग नजिक भइरहेका छन् । देउवासँग पौडेल नजिक भएको सुइँको मिलेपछि सिटौला कोइराला परिवारसँग नजिक हुन थालेको पाइन्छ । 
शेखर कोइराला देश दौडाका धनगढी पुग्दा नेतृत्वमा दावेदार गर्ने पूर्वमहामन्त्र    ी प्रकाशमान सिंह पनि धनीगढीमा जम्काभेट भयो । सिंह दार्चुलाबाट धनगढी झरेका थिए । पार्टी सभापतिको दौडका क्रममा दुबैले एकै ठाउँमा कार्यकर्ता भेटेघाट गरे । एकले अर्काको पोल खोलेका थिए । 
बाह्रौं महाधिवेशनका निर्वा्चित महामन्त्री सिंह नेतृत्व परिवर्तन र आफ्नो भूमिका खोज्दै जिल्ला भ्रमणमा निस्किन थालेका बताए । तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्य बसेर पौडेल समूहलाई सघाएका सिंह आफू यसपालि सभापतिको उम्मेद्वार हुने दावी गरे । 
उनले भने, ‘नेपाली कांग्रेसमा तपाईँहरूले धेरै निराशा मात्रै देख्नुभयो, प्रकाशमानजी यहीँ हुनुहुन्छ, हामीहरू मिलेर नेपाली कांग्रेसलाई पहिलेकै जस्तो बनाउँछौं ।’
हाम्रो लडाइँ, विकृति विसंगतिविरूद्धको हो भन्दै कोइरालाले भने, ‘पहिले त पाटीभित्रकै विसंगतिसँग लड्नु छ ।’ उनले घुमाउरो पाराले नेतृत्व कोइराला परिवारले लिने बताए । 
कोइरालाले ‘मिलेर पार्टी बनाउने’ बताएपछि कार्यकर्तासामू सिंहले पार्टी नेतृत्वमा आफ्नो दाबी घुमाउरो पाराले राखे ।
त्यसपछि उनले नेतृत्वमा आकांक्षा र त्यसमा आफ्नो योग्यता प्रष्ट्याए।
‘अहिले मजबुत र सुधारिएको कांग्रेस चाहिएको छ। हाम्रो ध्यान त्यतातिर हो। पार्टी जोगाउनु छ । म गणेशमानको छोरा हुँ, नेविसंघ विगठन गर्दा गिरिजाबाबुकै निर्णयविरुद्ध आवाज उठाएको हुँ, खारिएर यहाँसम्म आएको हुँ,’ उनले भने, ‘उप(सभापति, महामन्त्री भइनैसकेँ, संसदमा बारम्बार पुगेँ, उपप्रधानमन्त्री भएँ। अवसर अझै छ । पार्टी मजबुत बनोस् भन्ने मेरो चाहना हो ।’ उनको यो बोलीबाट नेतृत्वमा दावी गरिएको प्रष्ट हुन्छ । 
सभापति शेरबहादुर देउवामाथि कठोर आलोचना गर्दै आएका सिंह महामन्त्री कोइरालाको भूमिकासँग पनि सन्तुष्ट छैनन् । सभापति देउवा र महामन्त्री शशांक दुबैबाट पार्टी नचल्ने बताउँदै आएका छन् ।
डडेलधुरामा कार्यकर्तासँग सिंहले भने, ‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यो प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चलेन। पार्टीलाई नियमसंगत चलाउने हो। कुनै व्यक्ति वा नेताको प्रभुत्व बढाउने हैन,’ सिंहले भने, ‘यसरी चलाउँछु भन्ने नेतामध्ये बलियो ग्राउन्ड भएको व्यक्ति म पनि हुँ।’
महामन्त्री कोइरालाले कोइराला परिवारबाट शेखर, सुजाता र आफूमध्ये एक जना पार्टी नेतृत्वमा उठ्ने बताएपछि सिंह दबाबमा छन् । यी तिनैबीचको अप्ठेरो टार्ने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको सहयोग पाउने आशमा सिंह छन् ।
तेह्रौं महाधिवेशनमा तेस्रो धार बनाएर सभापतिमा लडेका कृष्णप्रसाद सिटौला देउवाविरूद्ध खुलेरै बोलिरहेका छन् । उनले देउवा नेतृत्वबाट कांग्रेसको भविष्य सम्भव नरहेको बताइसकेका छन् । तेह्रौं महाधिवेशनमा छुट्टै उम्मेदवारी दिएको ‘सिटौला समूह’ले अन्तिममा देउवालाई सभापतिमा सघाएको थियो । डा. शेखर युवापुस्ताको साथ लिएर पार्टीको नेतृत्व सम्हाल्न अग्रसर भइसकेका छन् । जिल्ला दौड र नेता कार्यकर्ता भेटमा सबैभन्दा सक्रियता उनकै छ ।
उनले आफ्नो महामन्त्रीमा युवा नेता गगन थापालाई ल्याउन चाहेको उनी निकट एक नेताले बताएका छन् । उनका अनुसार कोइरालाले थापासँग तीन चरणसम्म गफ गरिसकेका छन् । 
देउवा आफ्नो समूहबाट फेरि पनि पार्टी सभापतिमा उठ्ने निश्चितजस्तै छ । उनलाई समूहबाट कसैले चुनौती दिएका छैनन् ।  महामन्त्रीमा भने देउवाले कसलाई उठाउछन् टुंगो छैन ।
देउवाको अझै पार्टीमा बलियो पकड छ । त्यसैले उनी एक कार्यकाल अझै सभापति खाने देखिन्छन् । ‘देउवाको चुनौती चिर्न शेखर समूहले पौडेल, सिंह, सिटौला र थापाहरूको युवा जमातलाई एकैठाउँ ल्याउन सक्नुपर्छ । सुशील कोइरालापछिका नेतामा यो गुण देखिँदैन,’ एक जना युवा नेताले भने । 
‘पौडेल, शेखर, सिंह जोसुकै सभापतिका लागि लडे पनि देउवाइतरको निर्णायक समूहलाई विश्वास दिलाउन सक्नुपर्छ,’ ती नेताले भने, ‘अबको चुनौती भनेकै यही हो, नत्र फेरि देउवाले नेतृत्व लैजान्छन् ।’

प्रतिक्रिया दिनुहोस