धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ निगम

रासस

सोमबार, ०३ जेठ २०७८, १८ : २८
धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ निगम

काठमाडौं । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर नेपाल ल्याइरहेका छन् ।

निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिण्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङ्बाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको छ । निगमका महाप्रवन्धक  डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४०० र ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सर्नटे«टर ल्याइएको छ । चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर ल्याउने तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको छ ।

निगमले यसअघि वैशाख २८ गते चीनबाटै ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । यीसबै सामग्री चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको हो । चीन सरकारको दुई हजार अक्सिजन सिलिण्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसिले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ वटा अक्सिजन सिलिण्डर नेपाल ल्याउने निगमले जनाएको छ ।

गत शनिबार पनि निगमले गैर आवासीय नेपाली सङघको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा ओमनबाट सहयोग स्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस