चितवनको मेघौलीमा रासायनिक मल तस्करी गर्ने गिरोह सक्रिय

७६५ रुपैयाँ पर्ने युरिया मल १७५० रुपैयाँमा बिक्री

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०७७, १२ : ५९
चितवनको मेघौलीमा रासायनिक मल तस्करी गर्ने गिरोह सक्रिय

सांकेतिक तस्विर

चितवन । साल्ट्र ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडले लकडाउनको कारण देखाउदै रासायनिक मल ल्याउन नसकेपछि अहिले मलको तस्करी गर्ने गिरोहहरुले रातारात भारतीय सिमावर्ती बजारबाट मल ल्याएर यहाँ चर्को मूल्यमा बिक्री गरिरहेका छन् । 

चितवनको मेघौलीका केही ब्यक्तिहरु मलको अवैध धन्दामा सक्रिय भएको पाइएको छ । उनीहरुले बोलेरोमा रातारात मल भित्र्याउने र चर्को मूल्यमा रातारात बिक्री गर्ने गरेको पाइएको हो ।  मेघौलीमा रहेको एक किराना पसलबाट अवैधरुपमा रासायनिक मलको कारोबार हुने गरेको छ । 

नवलपुरको त्रिवेणी र नवलपरासीको भारतसँग सीमा जोडिएको नाकाबाट अवैधरुपमा रासायनिक मल रातारात चितवन ल्याएर बिक्री गर्ने गरेको पाइएको छ । युरिया र डिएपी मल राज्यका निकायबाहेक अन्यत्रबाट किनबेच गर्न नपाइने र एग्रोभेटलाई समेत बिक्री गर्ने अनुमति नभएको साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडका अधिकारीहरु बताउँछन् ।   

मेघौली एयरपोर्टछेउका किराना पसल संचालक नन्दु चौधरीलाई अवैध मल ल्याएको बिषयमा सोधीखोजी गर्न फोन गरेपछि स्थानीय नारायण भुर्तेलले उल्टै फोन गरी त्यो मल अवैधानिक रुपमा नल्याइएको र वडा कार्यालयबाट सिफारिस लिई ल्याइएको दाबी गरे । उनले आफूले पनि तीन पटक वडाबाट सिफारिस लिई त्रिवेणी आसपासका बजारमा पुगी मल ल्याएर किसानलाई बिक्री गरेको बताए । भारतीय बजारमा ४५ किलोको बोरा हुने र त्यसलाई फुटाएर साईकलमा डोर्याएर नेपाल भित्र्याएको मल जम्मा पारी पुनः बोरामा हालेर बिभिन्न झन्झट बेहोर्दै चितवनसम्म ल्याएर किसानलाई आफुहरुले सेवा गरेको भुर्तेलको दाबी छ । 

मल ल्याउन किराना पसलका संचालक चौधरी आफै बलोरो लिएर रातारात जाने र रातारात मेघौली ल्याएर उज्यलो हुने बेलासम्म मल बिक्री गरेर सकिसक्ने गरेको स्थानीयहरुले बताए । मल ग्राहक बनी गरिएको कुराकानीमा मल ल्याउने मुख्य ब्यक्ति चौधरीले मल किन्दा भारतमै प्रतिबोरा १३ सय हाल्नु पर्ने, गाडी भाडा प्रतिबोरा १५० तिर्नु पर्ने, बाटोबाटोमा पैसा खुुवाउँदै आउँदा महंगो पर्ने गरेकाले यहाँ बिक्री मूल्य १७५० रुपैयाँ पर्ने बताए । उनले मल चाहिएमा पहिल्यै बुक गर्न आग्रह समेत गरेका थिए । पछि पत्रकारको परिचय खुलाएपछि उनीहरुले समाचार नलेख्न बिभिन्न मान्छेहरु लगाएर प्रलोभन समेत दिलाउदै आएका थिए ।

अवैधरुपमा मल भित्रिएको बिषयमा जिज्ञासा राख्दा वडा नम्बर २७ का अध्यक्ष  गोबिन्द तामाङले भारतीय बजारबाट मल ल्याउन दिने अधिकार आफूसँग नभएको र कसैलाई त्यस्तो अनुमति नदिएको बताए ।

आफूले धानको बीउ राख्ने बेलामा दुई पटक नारायण भुर्तेललाई गैंडाकोटदेखि नजिकै आसपासबाट मल लिन जान र आउन गाडीका लागि सिफारिस दिएको र त्यसपछि एक पटक पनि अरु कसैलाई सिफारिस नदिएको उनको भनाई छ । भुर्तेलले मल ल्याएर बिक्री गरेको भनी वडामा उजुरी आएपछि आफूले उनलाई बोलाएर अबदेखि यस्तो काम नगर्न भनेर निर्देशन समेत गरेको वडा अध्यक्ष तामाङको भनाई छ ।

कृषि सामग्री केन्द्रका प्रवक्ता बिष्णु पोख्रेलले कोरोनाका कारण सप्लायर्सले अन्योलता भएको बताएर मल ल्याउन  ढिलाई भएको जानकारी दिए ।  अब एक महिनाभित्र मल आईसक्ने उनको भनाई छ । मल ल्याउन अब ढिला गरे ठेकेदार र सप्लायर्सलाई कानुनी कारबाहीमा जान हामी बाध्य हुनेछौँ भनेर आफूहरुले भनेको र उनीहरुले १५ दिनमा मल ल्याउँछौं भनेर जवाफ दिएको उनको भनाई छ ।

नेपालमा यस वर्ष सैलुङ ईन्टरप्राईजेज र होनिको मल्टिपलले मल ल्याउने अनुमति पाएका हुन् । उनीहरुले समयमै मल नल्याउँदा किसानले धान सिजनमा मल हाल्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस