चितवनमा ९५ प्रतिशत धान रोपाईं सकियो

अवैधरुपमा भित्रिएको रासायनिक मल चर्को मूल्यमा खरिद गरी प्रयोग गर्नु पर्ने बाध्यतामा किसान

प्रकाश सिग्देल

विहीबार, १५ साउन २०७७, १२ : ५५
चितवनमा ९५ प्रतिशत धान रोपाईं सकियो

– प्रकाश सिग्देल

चितवन । यो वर्ष लगातार वर्षा हुन थालेपछि साउनको दोस्रो हप्तासम्ममा चितवनमा धान रोपाईं ९५ प्रतिशत सकिएको छ । आकासेपानीको भरमा सिँचाई गर्नु पर्ने पश्चिम चितवनका अधिकांश भेगमा पनि अहिले रोपाईं भइसकेको छ । 

चितवनको पुर्वी क्षेत्रमा भने कुलोमार्फत सिँचाई हुने भएकाले त्यहाँ रोपाईं सकिएको कृषि ज्ञान केन्द्र चितवनका अधिकारीहरु बताउँछन् । चितवनमा २७ हजार ४४५ हेक्टरमा  धानखेती हुने गरेको छ । यो वर्ष १ लाख १५ हजार ७ सय १४ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ ।  

यो वर्ष प्रयाप्त पानी परेकोले असारको पहिलो हप्ताबाटै रोपाईं सुरु भएको र साउनको दोस्रो हप्तासम्म लगभग रोपाईं सकिन लागेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनु भयो ।

पर्याप्त पानी आएपछि यो वर्ष समयमै रोपाईं गर्न पाएकोका किसान खुसी छन् । तर धानमा हाल्ने युरिया मल भने नपाइएको किसानले गुनासो गरेका छन् । मल बिक्री गर्ने निकाय साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले मल ल्याउन नसकेपछि किसानहरुले अबैधरुपमा भित्रिएको मल चर्को मूल्य हालेर किनेर धान खेतीमा प्रयोग गर्नु परेको बताएका छन्  । 

राज्यका निकाय उदासिन बनिदिँदा चितवन र नवलपुर क्षेत्रका किसानहरु अहिले अवैधरुपमा भित्र्याइएको रासायनिक मल महंगो मूल्यमा खरिद गरि प्रयोग गर्न बाध्य भएका छन् । किसान मिना सापकोटाले मल नपाएपछि अवैधरुपमा आएको युरिया प्रतिकेजी ५० का दरले खरिद गरेर धानबालीमा प्रयोग गरेको बताइन् । 

धान अहिलेसम्म राम्रै भएपनि मल नपाउँदा धान पहेँलिन थालेको भन्दै राज्यले धान सिजनमा मल भित्र्याउन नसक्दा किसानलाई ठुलो समस्या परेको कृषकहरु बताउँछन् । किसानले पहिलो पटक धान गोड्ने बेला भइसक्दा पनि मल हाल्न नपाएपछि कसरी उत्पादन लिने भन्ने चिन्तामा रहेको किसान अमृत डुम्राकोटीले बताए । 

सहकारीले बाँडेको एक दुई किलो जम्मा गरेर राखेको मल हालेको बताउँदै ब्यापारीले अवैधरुपमा मल बिक्री गर्ने गरेको र चर्को मूल्यमा त्यही मल खरिद गरी बिक्री गर्नु परेको दुःखेसो गरे । 

अहिले त्रिबेणी नाकाहँुदै नवलपुर र चितवनका केही ब्यक्तिहरुले पहुँचको भरमा अवैधरुपमा मल ल्याएर महंगो मूल्यमा किसानलाई बिक्री गर्ने गरेको किसानहरुले बताए । पश्चिम चितवन मेघौली क्षेत्र र पुर्वी चितवन भण्डाराका केहि ब्यवसायीले खाद्यान्न बोक्ने गाडीमा लुकाएर अवैधरुपमा मल भित्र्याउने र एग्रोभेटलाई बिक्री गर्ने तिनै एग्रोभेटले महंगो मूल्यमा किसानलाई मल बिक्री गर्ने गरेको किसानहरु बताउँछन् । 

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले मल बिक्री गर्ने निकाय साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडमा मल नभएको आफुलाई सुचना आएको र अहिले किसानले मलको प्रयोग गर्ने मुख्य सिजनमा मल नपाउँदा समस्या भोग्नु परेको बताए । आफुहरुले यसअघि पनि एकद्वार प्रणालीमार्फत बिक्री गरी किसानलाई सहजताका लागि दुबै निकायले ज्ञान केन्द्रको सिफारिसमा मात्रै मल बिक्री गर्ने प्रबन्ध गरेको भएपनि अहिले मल नै नभएपछि समस्या भएको उनी बताउँछन् । 

अन्नको भण्डार मानिने चितवनमा मल र उन्नत बिउको अभाव रोग किराको प्रकोपका कारण धानको उत्पादन घट्दै जाने हो कि भन्ने चिन्ता अहिले छाएको छ । जमिनको तीव्र खण्डीकरण र जथाभावी प्लटिङका कारण खुम्चिँदै गएको धान उत्पादनमा यस बर्ष आएको बाढी र मलको अभावले थप असर गर्न सक्ने अनुमान छ ।   

कृषक सिता पौडेलले मल तथा बिउ नपाउँदा समस्या भएको बताए । प्रतिकेजी ४५ का दरले मल खरिद गरी ल्याएर हाल्नु परेको दुखेसो उनको छ ।  सहकारीमा मल नहुँदा महंगो शुल्क तिरेर एग्रोभेटमा जति पनि मल पाइने उनी बताउँछन् । 

कृषक गिता सुबेदीले किसानलाई जहिले पनि समस्यै समस्या रहेको बताइन् । यो वर्ष समयमा पानी परेर रोपाईं गर्न पाएपनि मल नहँुदाको समस्यासंगै धानमा लाग्ने रोग किराको प्रकोपले गर्दा उत्पादन लिन नसकिने हो कि भन्ने चिन्ता हुन सुरु गरिसकेको उनको भनाई छ । रोप्दा राम्रो बिउ पाईंदैन, रोप्यो मल छैन । महंगो मूल्यमा मल खरिद गरि धानमा हाल्यो फेरि रोग किराको प्रकोप । किसानलाई कहिँ कतैबाट पनि सन्तोष नभएको उनको भनाई छ । 

डुबानको समस्या

यस वर्ष बाढीका कारण चितवन र नवलपुरका बिभिन्न क्षेत्रमा डुबानको समस्या पनि भएको छ । पूर्वी चितवन र पश्चिम चितवनका केही क्षेत्रका किसानहरुले डुबानको समस्याले रोपो नष्ट भएको बताएका छन् । 

पूर्वी चितवनको  पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुने गर्छ । यो क्षेत्रमा अन्य क्षेत्रको तुलनामा सिँचाईको राम्रो सुविधा छ । पश्चिम चितवनमा धान खेती गर्ने क्षेत्र भए पनि सिँचाईको सुविधा उपलब्ध नहुँदा एक सिजनमात्रै आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । नजिकै नारायणी नदी बगेपनि त्यहाँको पानी लिफ्टमार्फत तानेर सिँचाई गर्नु पर्ने बाध्यता हँुदा पर्याप्त पानी भने पाउन सकेका छैनन् । 

चितवनको धान उत्पादनले चितवनसहित विभिन्न पहाडी जिल्लाहरूलाई पनि धानेको छ । चितवनमा हुने उत्पादनको ३५ देखि ४० प्रतिशत उत्पादन साबित्री जातको धान मात्रै उत्पादन हुने कार्यालयले जनाएको छ । त्यसको अलावा  सावाँ रामधान र स्थानीय जातहरु पनि चितवनमा लगाईंदै आएको छ ।  

धान फल्ने खेत मासेर अनियन्त्रित प्लटिङ

धान वा अन्य खेतीबाट भन्दा जग्गा प्लटिङ गरेर मनग्ये आम्दानी गर्न सक्ने भएपछि पछिल्ला बर्षहरुमा चितवनमा जथाभावी प्लटिङको अभियान नै चलेको छ । तर, भरतपुर महानगरपालिकाले खेती योग्य जमिन प्लटिङका लागि ठोस योजना नल्याउँदा त्यसको मार खेती योग्य जमिनमा परेको छ । 

अत्यन्तै घोलखेत र वर्षाको समयमा पूरै डुवान हुने क्षेत्रमा समेत पछिल्लो समयमा प्लटिङ गर्न थालिएको कृषि ज्ञान केन्द्रका अधिकारीहरु बताउँछन् । 

प्लटिङले गर्दा पनि कुला तथा नहरहरु मासिँदै जाँदा सिँचाईमा पनि समस्या हुन थालेको किसान सुवास शर्मा बताउँछन् । नयाँ संरचना निमार्ण गर्न नसक्नु र भएका संरचनाहरु पनि मास्दै जाँदा चितवनमा सिँचाईको समस्या हुन थालेको किसानको दुखेसो छ । 

राज्यले बेलैमा किसानका लागि मलको उचित प्रबन्ध गरी रासायनिक मल तस्करी गरी अवैधरुपमा धन्दा चलाउने गिरोहहरुको नियन्त्रण गर्न किसानहरुले माग गरेका छन् । राजनितिक संरक्षणमा चितवनमा मल तस्करी गर्ने गिरोहहरुको सक्रियता दिन दुई गुणा रात चार गुणा हुन थालेको बताइन्छ । 

त्रिबेणी आसपासका नाकाहँुदै भरिया लगाएर मल सिमावारी ल्याउने र त्यहाँबाट गाडीमा लोड गरी रातारात नवलपुर र चितवनमा गिरोहले मल ल्याएर बिक्री गर्दै आएको बताइन्छ । किसानका लागि मल दिने जिम्मेवारी राज्यको हो । त्यसैले राज्यले बेलैमा किसानका लागि मल उपलब्ध गराई तस्करी गर्ने गिरोहको पहिचान गरी कारबाही गरोस् । 

प्रतिक्रिया दिनुहोस