पुनर्बहालीको माग गर्दै बोटलर्स नेपालका मजदुरहरु आन्दोलित

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, १६ : ३६
पुनर्बहालीको माग गर्दै बोटलर्स नेपालका मजदुरहरु आन्दोलित

चितवन । चितवन भरतपुर गोन्द्राङको बोटलर्स नेपाल तराई लिमिटेडमा कार्यरत ४८ मजदुरहरु पुनर्बहालीको माग गर्दै आन्दोलित भएका छन् ।  उनीहरुले आज पत्रकार सम्मेलन गरी कम्पनीले आफूहरुको रोजीरोटी खोसेको भन्दै पुनर्बहालीको माग गरेका हुन् ।  

‘बोटलर्स नेपाल तराई लिमिटेडमा काम गर्दै आइरहेको हामी अखिल नेपाल ट्रेड युनियन महासंघमा आबद्ध मजदुरहरुलाई रोजगारीबाट हटाएको हुनाले हामी ४८ जना मजदुरहरु आन्दोलित भएका छौँ’ आन्दोलनमा लागेका बुद्धिमान सेन्चुरीले भने, ‘आन्दोलनको कार्यक्रमअन्तर्गत यतिबेला शान्तिपूर्ण धर्नाको कार्यक्रम चलिरहेको छ ।’ निष्कासित मजदुरहरु कम्पनी अगाडि धर्नामा बसेका छन् । 

कम्पनीअन्तर्गतको वेयर हाउस विभागमा रहेर उनीहरु लोड अनलोडमा काम गर्दै आइरहेका थिए । मजदुरहरु पाँच वर्षदेखि १० वर्षसम्म काम गर्दै आएका थिए । सबै मजदुरहरु स्थानीय हुन् । आन्दोलनको नेतृत्व गरेका बुद्धिमान सेन्चुरीले पुराना हटाएर नयाँलाई प्राथमिकता दिएको आरोप लगाए । आन्दोलित मजदुरहरुले पुनर्बहाली नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । 

मजदुरहरुद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोटलर्स नेपाल तराई लिमिटेडको वेयर हाउस विभागमा अस्थायी रुपमा कार्यरत श्रमिकहरुलाई श्रम ऐन २०७४ ले तोकेबमोजिम सामाजिक सुरक्षालगायतको सम्पूर्ण सेवा तथा सुविधा कम्पनी व्यवस्थापनबाट दिइयोस् ।’

बोटलर्स नेपाल तराई लिमिटेडले भने ठकेदार कम्पनीबाट राखिएको मजदुर भएको हुनाले कम्पनीसँग सरोकार नरहेको जनाएको छ । मजदुरहरुले उपदान रकमसमेत लिएको कम्पनीको दावी छ । हाल आन्दोलित भएका मजदुरहरु पवन ढुवानीबाट काममा राखिएका थिए । मजदुर सेन्चुरीले भने, ‘नयाँ मजदुरहरुले राखेर पुराना कर्मचारीहरुलाई हटाउने काम भएको छ, सम्पूर्ण मजदुरहरुको पुनर्बहाली नभएसम्म आन्दोलन जारी रहन्छ ।’

श्रमिकहरुले हिजो जुन स्थानमा काम गर्दै आइरहेका थिए, सोही स्थानमा कम्पनी व्यवस्थापनबाट स्थायी रुपमा व्यवस्थापन गर्न माग गरेका छन् । श्रमिकहरुको माग पूरा नभए मालसामान तथा कच्चा पदार्थ ढुवानी सम्बन्धीका सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइनुको साथै तालबन्दीसमेत गरिने विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस