चोटग्रस्त भएपछि एमबाप्पे ३ हप्ता मैदान बाहिर

एजेन्सी

मंगलबार, १३ साउन २०७७, ०८ : ३४
चोटग्रस्त भएपछि एमबाप्पे ३ हप्ता मैदान बाहिर

एजेन्सी । फुटबलर केलियन एमबाप्पे खेलको क्रममा लागेको चोटका कारण ३ हप्ता प्रतियोगिता नखेल्ने भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड रहेका केलियन एमबाप्पेको दायाँ गोडाको गोलीगाँठोमा लागेको चोटका कारण तीन हप्ता मैदान बाहिर हुने भएका छन् ।

उनले आउँदो अगस्ट १२ मा लिस्बनमा हुने इटालियन क्लब एट्लान्टासँगको च्याम्पियन्स लिग क्वाटरफाइनलको खेल गुमाउने भएका हुन् । २१ वर्षका एमबाप्पे फ्रेन्च कप अन्तर्गत शुक्रबार राति भएको फाइनल खेलको क्रममा चोटग्रस्त भएका थिए । चोट लागेपछि रुँदै मैदानबाट बाहिरिएका उनको डाक्टरहरुले निगरानी गरिरहेका छन्।

उनी पिएसजी सेमिफाइनलमा पुग्न सकेमा १८ अगस्टमा हुने खेलका लागि भने मैदानमा उपलब्ध हुन सक्ने छन् । स्क्यानहरुबाट यो थाहा भएको छ कि उनको गोलीगाँठोको बाहिरी लिगामेन्ट च्यातिएको छ । पिएसजीले वक्तव्य जारी गरेर भनेको छ, ‘एमबाप्पे तीन हप्ता साइडलाइन हुने देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस