भुवन केसीले हाले साम्राज्ञीविरुद्ध मुद्दा, १० करोड क्षतिपूर्ति माग

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०७७, १६ : ५३
भुवन केसीले हाले साम्राज्ञीविरुद्ध मुद्दा, १० करोड क्षतिपूर्ति माग

काठमाडौं । नायक तथा निर्माता भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहविरुद्ध बेइज्जतीको मुद्दा हालेका छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतमा १० करोड क्षतिपूर्ति मागदाबीसहित साम्राज्ञीविरुद्ध भुवनले मुद्दा हालेका हुन् । 

असार १२ गते एक भिडिओ सार्वजनिक गर्दै नायिका साम्राज्ञीले भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन्। चलचित्र छायांकनको क्रममा अपमान गर्नुका साथै धेरै पटक दुर्व्यवहार गरेको उनको आरोप थियो। 

साम्राज्ञीको आरोपको खण्डन गर्दै भुवनले जुन थालमा खायो त्यही थालमा दुलो पारेको प्रतिक्रिया दिएका थिए। त्यसपछि अर्को भिडिओ सार्वजनिक गर्दै साम्राज्ञीले जापानमा अवार्ड लिन जाँदा समेत शोषणमा परेको बताएकी थिइन । भुवनले छानविनका लागि कलाकार संघमा उजुरी दिएका थिए। 

उजुरीका सम्बन्धमा साम्राज्ञीले आफूले भुवनको नाम नलिएको प्रतिक्रिया दिएकी थिइन्। छलफलका लागि बोलाउँदा पनि साम्राज्ञी नआएको जवाफ संघले दिएको छ । अन्ततः आफ्नो मानहानी तथा चरित्र हत्या गर्ने काम भएको भन्दै भुवनले कानूनी बाटो रोजेका हुन्। विना प्रमाण आरोप लगाउन नमिल्ने भन्दै भुवनले दोषीमाथि कारवाही हुनुपर्ने माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस