अमेरिका र चीनबीच द्वन्द्व बढ्दा टिकटक दबावमा

एजेन्सी

मंगलबार, ०६ साउन २०७७, १६ : ३०
अमेरिका र चीनबीच द्वन्द्व बढ्दा टिकटक दबावमा

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच द्वन्द्व बढ्दा टिकटक दबावमा परेको छ । अमेरिका र अस्ट्रेलिया यो एपलाई प्रतिबन्ध लगाउन सकिने बताइरहेका छन् भने भारतले यसलाई प्रतिबन्ध लगाइसकेको छ ।

यूट्युबजस्तै टिकटक निशुल्क प्रयोग गर्न सकिने सेवाको एप हो । प्रयोगकर्ताहरूले गीत र विशेष प्रभाव देखिने फिल्टरको ठूलो भण्डारबाट छानेका सुविधा प्रयोग गरेर एक मिनेटसम्म लामो भिडिओ राख्न सक्छन् ।

चलचित्रका सम्वाद र हास्यरसका भनाइहरूमा पनि प्रयोगकर्ताले अभिनय गर्न सक्छन् । एक प्रयोगकर्ताले १,००० फलोअर बनाएपछि प्रत्यक्ष भिडिओ पनि प्रसारण गर्न सक्छन् । प्रयोगकर्ताले डिजिटल उपहार पनि ग्रहण गर्न सक्छन् र त्यसलाई पैसासँग साट्न सक्छन् । साथीका भिडिओहरू र पहिले हेरिएको भिडिओको आधारमा चर्चित नयाँ भिडिओ हेर्न सकिने टिकटकमा प्रयोगकर्ताहरू बीच सन्देश आदानप्रदान गर्ने सुविधा पनि छ ।

सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा नियमित परिरहेको छ । महामारीको लकडाउनका कारण यसका मानिसको आकर्षण ह्वात्तै बढेको छ । अहिले यो एप अनुमानित दुई अर्ब पटक डाउनलोड गरिएको छ र यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । यो एप सबैभन्दा बढी भारतमा डाउनलोड भएको थियो तर प्रतिबन्धका कारण अहिले चीन र अमेरिका यसको सबैभन्दा ठूलो बजार हो ।

सन् २०१४ मा सुरु भएको अमेरिकी एप म्युजिकल्ली हो । सन् २०१६ मा चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले चीनमा उस्तै प्रकारको ठाउयीन एप सुरु गर्‍यो । बाइटडान्सले त्यसलाई संसारभर टिकटकको नाममा फैलायो । सन् २०१८ मा बाइटडान्सले म्युजिकल्लीलाई किन्यो र यसलाई टिकटकमा मिसायो । बाइटडान्सले चिनियाँ स्वामित्वबाट आफ्नो एपलाई पर राख्ने प्रयास गरेको छ । यसका लागि कम्पनीले टिकटको प्रमुख कार्यकारीको रूपमा डिज्नीको पूर्वकार्यकारी केभिन मायरलाई नियुक्त गरेको छ ।

तथ्यांक संकलन
टिकटकले फेसबुकजस्तै धेरै तथ्याङ्क सङ्कलन गर्छ । यूकेको गोपनियतासम्बन्धी काम गर्ने एक निकायले यो एपको अध्ययन गरिरहेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकले सङ्कलन गरेको तथ्याङ्क चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुग्ने आरोप लगाएका छन् । टिकटकले तथ्याङ्क सङ्कलन चीन बाहिर हुने र बाहिरै भण्डार हुने पटकपटक बताएको छ । टिकटकविरुद्धको कुरा भनेको चिनियाँ सरकारले स्थानीय कानुन लगाएर बाइटडान्सलाई विदेशी प्रयोगकर्ताको तथ्याङ्क दिन बाध्य पार्न सक्छ भन्ने हो ।

चीन संसारको सबैभन्दा नियन्त्रित इन्टरनेट भएको स्थान हो र कुख्यात 'ग्रेट फायरवाल'ले चिनियाँ नागरिकालागि थुप्रै सामग्री रोक्छ । गत वर्ष गार्डियन पत्रिकाले टिकटकका कर्मचारी र प्रविधिले राजनीतिक रूपमा सम्वेदनशील विषयहरूलाई सेन्सर गर्ने गरेको लेखेको थियो । तियानानमेन स्क्वायरमा भएका विरोध र स्वतन्त्र तिब्बतको माग भएका सामग्रीहरू प्रतिबन्धित भएको बताइएको छ ।

टिकटकका छ जना पूर्वकर्मचारीसँगको कुराकानीको आधारमा वाशिङ्टन पोस्ट पत्रिकाले लेखेको समाचारमा चीनमा रहेका कर्मचारीले प्रतिबन्ध लगाउने कुराको अन्तिम निर्णय गर्ने बताइएको छ । बाइटडान्सले ती निर्देशिका अहिले लागु गर्न छोडिएको बताएको छ ।