– सविता श्रेष्ठ
तिमी त छोरीमान्छे
र पनि छोराजस्तो ठान्छे
यो नगर त्यो नगर
यस्तो गर उस्तो गर
यस्तै सुन्दै, बुझ्दै
हुर्किएँ
त्यहि घेराभित्र
बाँधिए
र पनि यहाँसम्म आईपुगें
देखेँ संसार, बुझें विविधता
नियालेँ छोरा र छोरीबीच गरिने भिन्नता
समाजले देखाए, बुझाए अनि पढाएजस्तो
फरक छैनन् छोराछोरी
मात्र फरक छ त
उनीहरूको हुकाई, पढाईमा
गरिने व्यवहार,
दिईने अधिकार
एउटै छ नि हामी बाँच्ने संसार
अनि मेरो संसारमा
खुसीयाली भर्न
आएकी छौ छोरी
सिकाउनु छ तिमीलाई
यस्तो संस्कार
जहाँ तिमी हुनेछौ
निडर
बिना कुनै प्रवाह
पूरा गर्ने छौ
रहर
बिना संकोच
अघि बढ्ने छौ
हरप्रहर
बनाउने छौ आफ्नो
पहिचान
जोडिने छ स्वाभिमान
हुने छैन कुनै ‘छोरा’सँग
तिम्रो तुलना ।
प्रतिक्रिया दिनुहोस