स्रोतसाधनको अधिकतम उपयोग हुनुपर्छ : नेता नेपाल

शुक्रबार, २६ माघ २०७४, २० : ०७
स्रोतसाधनको अधिकतम उपयोग हुनुपर्छ : नेता नेपाल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशभित्र रहेका स्रोत साधनको अधिकतम उपयोग तथा परिचालन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको धनगढीमा आज आयोजित केन्द्रीयसभाको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ नेता उहाँले भन्नुभयो, “पहिलो सडकको सञ्जालको निर्माण, दोस्रो रेल सञ्जाल विस्तार र तेस्रो हवाई सञ्जालको विस्तार गर्र्नु आवश्यक छ, यी तीनवटै क्षेत्रको विकास गर्नका निम्ति बिजुली नै आवश्यक रहेकाले पहिलो विकासको प्राथमिकता भनेको नै ऊर्जा उत्पादनमा विकास गर्नु हो ।”

नेता नेपालले देशको अर्थतन्त्रको आधारशिला कृषि भएकाले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा यान्त्रिकीकरण गरी लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले अब देशमा विदेशी दातृ निकायको लगानीभन्दा स्वदेशी लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लगानी परिणाममुखी हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा पूर्वऊर्जामन्त्री गोकर्ण विष्टले ऊर्जालाई बत्ती बाल्न मात्र नभई रोजगार र समृद्धिसँग पनि जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले विद्युत्को विकासका लागि निजी क्षेत्र र सहकारी क्षेत्रमार्फत विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चोरी नियन्त्रण, बक्यौता उठाउने विद्युत् प्राधिकरणलाई नाफामा लाग्नका लागि विद्युत् प्राधिकरणको शाखा प्रमुखदेखि लिएर क्षेत्रीय प्रमुखसम्म सबैले एकजुट भइ लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस