भारतीय विदेशमन्त्री जयशंकरबाट नेपालले कस्तो अपेक्षा गर्ने ?

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, १६ : २९
भारतीय विदेशमन्त्री जयशंकरबाट नेपालले कस्तो अपेक्षा गर्ने ?

काठमाडौँ । भर्खरै भारतको विदेशमन्त्री पद सम्हालेका जयशंकर नेपालीको लागि नौलो नाम होइन । यसर्थमा नौलो नाम होइन, २०७२ साल असोज ३ गते संविधान जारी हुनुभन्दा ४८ घण्टाअघि जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा नेपाल आएर संविधान रोक्न दबाब दिएका थिए । 

संविधान जारी गरे ‘हामीले देखाइदिन्छौँ’ भन्दै उनी भारत फर्केका थिए । यद्यवी नेताहरुले ठूलो साहस गरेर संविधान जारी गरे । संविधान जारी भएपछि नेपालले ६ महिनासम्म भारतीय नाकाबन्दीको सामना गर्नुपर्‍यो । नेपालमाथि नाकाबन्दी लगाउने  ‘डिजाइनर’ बनेका जयशंकर अहिले भारतको विदेशमन्त्री बनेपछि नेपाली राजनीतिक वृत्तमा नयाँ तरङ्ग छाएको छ । अनि एउटा प्रश्न चिन्ह खडा भएको छ, अब नेपालले जयशंरबाट कस्तो अपेक्षा गर्ने ?
संविधान रोक्न दबाब दिँदा जयशंकरमाथि नेपाली नेतालाई कूटनीतिक रूपमा अस्वाभाविक र अभद्र व्यवहार गर्ने आरोपसमेत लागेको थियो ।

जयशंकर विदेशमन्त्री हुनसाथ सामाजिक सञ्जालहरुमा आलोचनासँगै नेपाल र नेपालीले फेरि दुःख पाउन दिन आएको त होइन ? जस्ता प्रश्नहरु छरिएका छन् । विदेशमन्त्री नै भएका जयशंकरकै कारणले फेरि पाँच वर्ष नेपालीले दुःख पाउने त होइन ? जस्ता प्रश्नहरु सामाजिक सञ्जालमा कोरिएका छन् । नेपालमाथि थप घात हुनसक्ने संकेत पनि सामाजिक सञ्जालमा गरिएको छ । 

एक ट्विटर प्रयोगकर्ता जयशंकरलाई संकेत गर्दै लेख्छन, ‘मोदी मन्त्रिमण्डलमा नेपाल र नेपालीलाई तर्साउने अनुहार आउँदैछन । संविधान, संघीयता, नागरिकताको विषय र आर्थिक समृद्धिको विषय जटिल हुनसक्छ ।’प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहको ‘लाइभ ब्रोडकास्ट’ गरेको भारतीय टेलिभिजन आजतक टीभीमा बोलाइएका केही अतिथिले जयशंकरलाई कूटनीतिक सन्तुलन बिगार्ने व्यक्ति भनेरसमेत टिप्पणी गरेका थिए । यसबाट जयशंकरको नामले भारतमै पनि कूटनीतिक खतराको संकेत देखिएको पुष्टि हुन्छ ।

भारतले ६ महिनापछि विना कुनै शर्त वा विना कुनै छलफल नगरी नाकाबन्दी फिर्ता लियो । नाकाबन्दीको अस्त्र असफल भएको अन्तर्र्रािष्ट्रय सञ्चारमाध्यमले पनि टिप्पणी गरिसकेका छन् । नाकाबन्दीको सुत्रधार मानिएका जयशंकरबाट फेरि कुनै अस्त्र प्रयोग हुने त होइन, फेरि नेपालको अहितमा संविधान संशोधनको कुरा आउने त होइन ? यो सन्त्रास अहिले फिँजिएको छ । 

अब भारतले नाकाबन्दी वा त्यहीँ स्तरको कुनै अमानवीय हर्कत गर्न सक्ने सम्भावना नरहेको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरू बताउँछन् । तर पनि विदेशमन्त्री जयशंकरबाट कुनै गोटी चल्ने त होइन ?

मोदीको विश्वास पात्रका रूपमा रहेका जयशंकरले नेपालमा निकै सानो रूपमा रहेको संवैधानिक विवादको झिल्कोलाई उचाल्न सक्ने सम्भावना भने छ । एकपटक संविधान संशोधनको ‘च्याप्टर ओपन’ भयो भने नेपालले संवैधानिक स्थिरता गुमाउने सम्भावना रहन सक्ने नेकपाका एक नेताले बताए । 

संविधान संशोधनको विषय नेपालमा पनि चर्चा चलेको छ । यो बेलामा फेरि संशोधनको दबाब बढ्न थाल्यो र नेपालको अहितमा संशोधन गर्नुपर्ने अवस्था सिर्जना भयो भने यसलाई कसले रोक्ने ? नेपाली नेताहरुमा यो क्षमता छ ? हाम्रो आन्तरिक मामिला हामी आफैँले मिलाउने हो । विदेशी जानकारहरुका अनुसार भारतमा कुनै मन्त्री बन्दैमा नेपालमा कुनै हलचल आउने वातावरण यहाँको आन्तरिक मामिलाले दिन हुँदैन । 

प्रतिक्रिया दिनुहोस