प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, १७ जेठ २०७६, १४ : ०४
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार अपरान्ह दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ ।

ओली र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नाका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गर्नुभएको भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ । 

सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्दै विशेष उपहारस्वरुप रुद्राक्षको माला प्रदान गर्नुभएको थियो । पशुपतिनाथको मुलुकका सरकार प्रमुख ओलीले काशी विश्वनाथको मुलुकका सरकार प्रमुखलाई भगवान् शिवको प्रिय माला रुद्राक्ष उपहार प्रदान गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका लागि चयन हुनुभएका मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबारदेखि नयाँदिल्लीमा हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस