प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढेः मन्त्री शर्मा

सफल खबर संवाददाता

विहीबार, २५ जेठ २०८०, १३ : ४२
प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढेः मन्त्री शर्मा

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएकी छन । बिहीवार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताईन् । उनले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरु बर्बादीको शिकार भइरहेको बताईन् । उनले साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढीरहेको बताईन्। सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थिति समेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको बताईन् ।

मन्त्री शर्माले सूचना र प्रविधिमा हुने विकृतिका कारण युवापुस्ताहरु भड्किरहेको बताइन् । उजले नेपालमा साइबर सुरक्षा नीति नभएकाले वर्तमान सरकारले त्यससम्बन्धी काम गरिरहेको बताइन् । उनले डिजिटल शिक्षालाई जनस्तरमा पुर्‍याउनसके सूचना र प्रविधिसम्बन्धीका धेरै समस्या समाधान हुने बताइन् ।

उनले भनिन्, ‘हामीले यो क्षेत्रको विकास सकारात्मक ढंगले गर्नुपर्छ । यस भित्रका विकृतिहरु हामी देखिरहेका छौँ । हाम्रा भर्खरका किशोरकिशोरीहरु ठिक ढंगले साइबर शिक्षा, डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा त्यसको प्रयोगमा चुकिरहेका छन् । मोबाइल प्रयोग कसरी ठिक ढंगले गर्ने, हाम्रो जीवनमा सकारात्मक ढंगले कसरी लागू गर्ने भन्ने कुराको सही शिक्षा दिन नसक्दा हाम्रा किशोरकिशोरीहरु आज बर्बादीको शिकार भइरहेका छन् । सुसाइडको अवस्थामा पुग्नुपर्ने अवस्था भएको छ । यस्ता खालका प्राविधिक सहयोगसँगै हामीले प्रयोग गर्ने मान्छेले नियम, कानून त्यहाँ के गर्ने, के नगर्ने रु भन्ने शिक्षा छैन । कस्ता साइट कुन उमेर समूहकाले हेर्ने भन्नेकुराको व्यापक शिक्षा हामीसँग छैन । यो सबैकुरा थाहा नपाउँदा यसबाट आउने विकृतिलगायतका कुराबाट हाम्रो युवापुस्ता भड्किएको छ । यसको सही सदुपयोग गर्न र हाम्रो युवा पुस्तादेखि सबै हामी गलत प्रवृत्तिको शिकार नबनौँ भनेर राज्यको जिम्मेवारीमा हामी छौँ । यसमा नीति बनाउने बेलामा ढिलो भइसकेको छ, हामीसँग साइबर सुरक्षा नीति छैन । यसको अन्तिम तयारीमा हामी छौँ । डिजिटल शिक्षालाई व्यापक रुपमा लैजान सकेका छैनौँ । मोबाइलको विकाससँगै त्यो शिक्षालाई पनि अघि बढाउनु पर्छ ।’

मन्त्री शर्माले मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पुर्‍याउन जरुरी रहेको बताइन् ।
 

प्रतिक्रिया दिनुहोस