फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, १५ : ०२
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका हुन् ।

पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको उनीहरूको आरोप छ । सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनीहरूको निष्कर्ष छ ।

पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न मोर्चाले आह्वान गरेको छ ।

जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरूको कुनै हात नरहेको बताए । उनले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताए ।

‘पार्टीभित्र घटना घटिरहँदा हामी इलाम–२ को निर्वाचनमा अहोरात्र खटिइरहेका थियौँ । हामीलाई थाहा भएन कि पार्टीमा के हुँदैछ भनेर । पार्टी विभाजन भयो यसमा हाम्रो कुनै हात छैन । अहिले जसपा र जसपा नेपाल भएर आयो । यो पार्टी अगाडि बढिरहँदाखेरी जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन । यो पार्टीको विभाजन चाहिँ आत्मघाती कदम भयो,’  माखिमले भने । 

नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा जसपासँग जोडिएका पहिचानवादीहरूको भविष्य, राजनीतिक भविष्य र सिंगो संगठन ध्वस्त बनेको उनको निष्कर्ष छ । अब पूर्वको आन्दोलनलाई सशक्त बनाउने उनले उद्घोष गरे । 

मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले आफू पनि केही समय पहिला जसपा नेपालको पोलिटब्युरो सदस्यको रूपमा रहेको स्मरण गराए । अहिले माउ पार्टीमा रहेका र जसपा गठन गरेर अलग भएका कुनै पनि नेताहरू पहिचान, अधिकार र समतामूलक समाज निर्माणका लागि इमानदार नभएको निष्कर्षका साथ आफूले विद्रोह गरेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लेखक तथा राजनीतिक विश्लेषक भवानी बरालले हालै सम्पन्न इलाम–२ को उपनिर्वाचनमा दक्षिणपन्थी र धर्मनिरपेक्षता विरोधीहरू पनि पहिचानवादी बनेर निस्किएको टिप्पणी गरे । हिन्दु धर्म सापेक्षता र राजतन्त्रको पक्षधरहरू पनि भोट माग्न नक्कली पहिचानवादी बनेको उनले बताए । पहिचानको गलत अर्थ लगाउने काम रोकिन पर्ने उनले बताए ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्ष एवं किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले अब पहिचानका पक्षधरहरू एकै ठाउँमा उभिन आवश्यक रहेको बताए । इलाम–२ को उपनिर्वाचनमा पहिचान पक्षधरहरू एक ठाउँमा उभिएको स्मरण गराउँदै उनले अब आफ्नै शक्ति र पहिचानलाई स्थापित गराउने बताए । पहिचानवादी मोर्चाका संयोजक प्राडा महेन्द्र लावतीले नेपालमा सदियौँदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको बताए । नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने उनको भनाइ छ । 

जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरू पहिला उक्त पार्टीमा लागेको उनले बताए । पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनको भनाइ छ ।मोर्चाले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई सघाउने पनि उनले उद्घोष गरे । हालै सम्पन्न इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई पहिचानवादीको साझा उम्मेदवार बनाएझैँ सोही मोडल अपनाएर अगाडि बढ्ने उनले बताए । अगामी निर्वाचनमा पनि सोही मोडलमा अगाडि बढ्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस