सहकारीले बैंकभन्दा ठुलो कारोबार गर्दा समस्या आयो: मन्त्री अधिकारी

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १३ : ३९
सहकारीले बैंकभन्दा ठुलो कारोबार गर्दा समस्या आयो: मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैंकभन्दा ठुलो वित्तीय कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् ।

जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाफ गर्दै काम भइरहेको धारणा उनको छ ।‘सहकारीहरू बैंकभन्दा ठुलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन ।

सहकारीमा आबद्धहरूले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाऊ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’, उनले भने ।सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने धारणा राख्दै मन्त्री अधिकारीले भने,  ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन् । सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन ।'

मन्त्री अधिकारीले सहकारीमा समस्या आउनुमा संस्थाको लेखा सुपरिवेक्षण समिति पनि जिम्मेवार रहेको बताए ।कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । उनले सहकारी अभियान भुमरीमा परेको बताए ।

‘सहकारीहरूले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्म समीक्षा गर्ने बेला भएको छ । अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको क्षेत्र अहिले आफैँ ठुलो समस्यामा छ । यसले अर्थतन्त्रमै ठुलो असर पुर्‍याउन सक्छ । यस विषयमा हामी सबै सजग बन्नुपर्छ' उनले भने । 

सदस्यहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ । सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरूबाट पाठ सिकेर पनि अगाडि बढ्नु पर्ने उनले बताए ।

‘अहिले सबैलाई समस्या छैन, आफूले आफूप्रति विश्वास गरौँ, यो गम्भीर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुन सक्छ । संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ, त्यसैले हरेक विषयमा गम्भीर भएर निर्णय लिनुपर्छ । धेरै आन्तरिक समस्या छन्’, सचिव दवाडीले भने ।

यस्तै, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले सहकारीको खोल ओढेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । उनले सहकारीको प्रभावकारी नियमनका लागि  वैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारबाही गरेरै छाड्ने बताए । 

प्रतिक्रिया दिनुहोस