नेपालको रियलस्टेट क्षेत्र व्यवसायिक बन्न सकेको छैन : मन्त्री अधिकारी

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, १३ : ५४
नेपालको रियलस्टेट क्षेत्र व्यवसायिक बन्न सकेको छैन : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले ‘रियलस्टेट’ क्षेत्रले नेपालमा व्यवसायिक आकार लिन नसकेको बताएका छन् ।  आजदेखि ललितपुरमा सुरु ‘रियलस्टेट’ मेलामा सम्बोधन गर्दै मन्त्री अधिकारीले घरजग्गाको व्यवसायले व्यवसायिक आकार लिन नसकेको बताएका हुन् ।

उनले भने, ‘विदेशमा रियलस्टेट व्यवसाय प्रतिष्ठित व्यवसायीका रूपमा छ । नेपालमा पनि यो व्यवसाय प्रतिष्ठित व्यवसाय बन्न सक्ने पर्याप्त आधार छन् ।

’ यसबाहेक घरजग्गा व्यवसायमा पारदर्शिता कायम गर्ने विषय मुख्य चुनौतीका रूपमा रहेको समेत उनको भनाई छ । रियलस्टेट क्षेत्र करको दायरामा आउन नसक्दा राज्यले आम्दानीको ठुलो स्रोत गुमाइरहेको उनको भनाई छ ।

‘नेपालमा घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सुधार हुन सकेको छैन,’ मन्त्री अधिकारीले भने, ‘व्यावसायिकता विकास र पारदर्शितामा सुधार गरेर यो व्यवसायलाई हेर्ने नजर फेर्न जरुरी छ ।

’ घरजग्गाको कारोबारमा आएको गिरावटलाई सुधार्ने प्रयाससहित सरकारले विभिन्न उपाय अवलम्बन गरेको मन्त्री अधिकारी बताउँछन् ।‘कित्ताकाटमा देखिएको समस्या समाधान गर्न सरकारले भू–उपयोग नियमावलीमा संशोधन गरेको छ,’ उनले थपे, ‘लगानीकर्तालाई सहजीकरण गर्ने लक्ष्यसहित केही नेपाल ऐनमार्फत भूमिसम्बन्धी ऐनलाई समेत संशोधन गरिएको छ ।’ 

 

यसबाहेक घरजग्गा व्यवसायलाई पारदर्शी र भरपर्दो बनाउन मालपोत ऐनलाई संशोधनमार्फत कारोबारलाई व्यवस्थित बनाइएको मन्त्री अधिकारीको भनाई छ ।

‘घरजग्गा कारोबारलाई विश्वासिलो, पारदर्शी र भरपर्दो बनाउन र राष्ट्रिय अर्थतन्त्रलाई योगदान पुर्‍याउने बनाउनका लागि मन्त्रालयले आवश्यक काम गरिरहेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस