‘हरायो माघे सङ्क्रान्तिको रौनकता’

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, २० : १९
‘हरायो माघे सङ्क्रान्तिको रौनकता’

बागलुङ । बढ्दो आधुनिकता र पश्चिमा संस्कृतिका कारण पछिल्लो समय मौलिक संस्कृति हराउँदै गएका छन् । परम्परादेखि मनाइँदै आएका चाडपर्व तथा रीतिरिवाज अहिले त्यसको महत्त्व नदिएको पाइन्छ ।

बागलुङका मगर तथा छन्त्याल जातीले आजको दिन अर्थात् माघे सङ्क्रान्तिलाई विशेष पर्वका रुपमा मनाउने गर्दथे । यसअघिका वर्षमा बागलुङ बजारमा ठूलो तामझामका साथ मेला लाग्ने गरेकामा अहिले धेरै ठाउँ सुनसान छन् । 

माघे सङ्क्रान्तिमा आफन्तसँग भेटघाट हुने, खुसी साटासाट गर्ने र होरे कापै (डम्फु बजाएर नाच्ने) प्रचलन थियो । पछिल्लो समय निसीखोला गाउँपालिका–१ को लेबाङ, निसीखोला–५ को निसी र ६ को भल्कोट गाउँ बाहेक अन्य ठाउँमा होरे कापै खैलने प्रचलन हराएको छ । होरे कापै खेल्ने आफ्नै विधि र प्रक्रिया हुने भए पनि युवा पुस्तामा त्यसको ज्ञान नहुँदा यो प्रचलन ओझेलमा पर्दै गएको छ ।

माघे सङ्क्रान्तिसहित मौलिक परम्परा हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । डेढदशक अगाडिसम्म मुख्य बजारदेखि ग्रामीण क्षेत्रमा भव्य रुपमा बनाइने यो पर्व अहिले हराउँदै गएको तमानखोला–३ का वीरबहादुर बुढा मगरले गुनासो पोखे । पहिलेको जस्तो गाउँमा चाडपर्व मनाउनेहरु कम भएको भन्दै यहाँ भएकाहरुले पनि खास्सै चासो नदिने उनको भनाइ छ । 

अहिलेका चाडपर्वमा कुनै रौनकता नै नभएको बुढा मगरले बताए । “हामी मगर जातिको सबैभन्दा ठूलो पर्व हो माघे सङ्क्रान्ति, अहिलेका मान्छेले बुझ्दैनन् । हाम्रो जातिको पहिचानसँग जोडिएको छ । अहिले माघे सङ्क्रान्तिमा कुनै रौनकता छैन । पहिलाको जस्तो संस्कृति र पहिचान हराउँदै गएको छ”, उनले भने, “कापै खेल्ने, मान्यजनबाट आशिष लिने, तरुल, रोटी र खिर खाने चलन थियो । गाउँहरु डम्फुको तालले गुञ्जिन्थे, तर अहिले सबैतिर सुनसान छन् ।”

ढोरपाटन नगरपालिका–६ का ७५ वर्षीय केशवबहादुर छन्त्यालले युवा पुस्ताले माघे सङ्क्रान्तिको महत्त्व नबुझ्दा मौलिक परम्परा लोप हुने अवस्थामा पुगेको बताए । आफूहरुको पालासम्म पूर्खाहरुले जोगाउँदै आएको संस्कृति अहिले संरक्षण गर्न मुस्किल परेको उनले सुनाए । पहिले–पहिले गाउँमा स्थानीयले माघे सङ्क्रान्तिका लागि तरुल रोप्ने गरेको भन्दै अहिले आयातित तरुलमा निर्भर भएको उनको भनाइ छ । 

माघे सङ्क्रान्तिका दिन नयाँ कामको सुरुवात गरे शुभ हुन्छ भन्ने मान्यता राख्दै आए पनि अचेल कसैले मतलब नगर्ने छन्त्यालले बताए । “यो बेला गाउँगाउँमा मेला लाग्थ्यो । मेलामाकेटाकेटी भेट भएर गीत गाउने, नाच्ने चलन थियो । गीतबाटै परम्परा जोगाउने खालका सन्देश दिइन्थ्यो । साथै रमाइलो पनि गरिन्थ्यो”, उनले भने, “अहिले हाम्रो पालाको जस्तो हर्षोल्लास छैन । वर्षमा १२ सङ्क्रान्ति हुन्छन्, त्यसमध्ये सबैभन्दा विशेष र महत्वपूर्ण रुपमा माघको सङ्क्रान्तिलाई लिइन्छ । पछिल्लो समय हाम्रा संस्कार संस्कृति र परम्परा लोपहुँदै गएका छन् । यस्ता पर्वलाई सरकारले पनि संरक्षण गर्नका लागि पहल गर्नुपर्छ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले माघे सङ्क्रान्ति पर्वलाई संरक्षण गर्नका लागि पालिकाले पहल गरेको बताए । निसीखोलामा अहिलेसम्म धेरै संस्कृति संरक्षण हुँदै आएकामा अब थप व्यवस्थित र मौलिकरुपमा मनाउने गरी नागरिकलाई सजक बनाइरहेको उनले बताए । माघे सङ्क्रातिको साइनो खानपानसँग जोडिएको भन्दै ग्रामीण क्षेत्रमा अझ बढी मनाइने उनको भनाइ छ । 

“यो पर्व कहिलेदेखि मनाउन थालियो भन्ने यकिन गर्न सकेका छैनौँ, तर पहिले हाम्रा अग्रजहरुले जे जसरी मनाउँदै आउनु भएको थियो, सोही अनुसार हामीहरुले मनाउँदै आएका छौँ । नयाँ पुस्ताका युवालाई पनि यस्ता महत्त्व बोकेका मौलिक संस्कृतिको संरक्षण गर्न आकर्षित गरेका छौँ”, अध्यक्ष घर्ती मगरले भने, “निसीखोलाको केही वडामा जनजाति समुदायको बाहुल्यता रहेकाले माघे सङ्क्रान्तिको रौनिक अझै छ । पालिकाले हरेक वर्ष मौलिकता जोगाउनका लागि बजेटसमेत विनियोजन गर्दै आएको छ ।”

माघे सङ्क्रान्ति पर्वमा वन तरुल, खिर, घिउ, चाकु, तिलको लड्डु खाने प्रचलन छ । यस्ता खानाको परिकारले शरीरलाई जाडोसँग जुँध्न सहयोग गर्ने स्वास्थ्यकर्मी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस