सुन तस्करीका अभियुक्त एसएसपी खत्री जेल चलान

विहीबार, १७ जेठ २०७५, १९ : ०१
सुन तस्करीका अभियुक्त एसएसपी खत्री जेल चलान

काठमाडौं । सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्री जेल चलान भएका छन् । जिल्ला अदालत, मोरङमा भएको बयान र थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो । उनलार्इ जिल्ला कारागार, मोरङमा राखिनेछ ।
उनले बिहीबारै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । र, जिल्ला न्यायधिश नारायणप्रसाद शर्माको ६ नं. इजलासमा १२ पृष्ठ लामो बयान लिइएको थियो ।

यसअघि खत्रीलाई खोज्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा समेत डिफ्यूजन नोटिस जारी भएको थियो । खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको थियो । सुन तस्करीमा संलग्न मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ पक्राउ परेपछि उनले एसएसपी खत्रीलाई नियन्त्रणमा लिएमा सुनको सबै नेक्सस खुल्ने बयान दिएका थिए ।

२०७४ फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको थियो । दुबईबाट त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको उक्त सुन लुटिएपछि गोरेको समूहको यातनाका कारण सुनका भरिया सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो ।

सनमको हत्यापछि ३३ किलो सुन तस्करीबारे छानविन गर्न बनेको समितिले नेपाल प्रहरीका उच्च अधिकारी सहित ६३ जनलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा  संगठित अपराध, अपहरण तथा शरीर बन्धन र कर्तब्यज्यान मुद्धा दर्ता गरेको थियो । जुन मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ । यो प्रकरणमा हालसम्म उच्च प्रहरी अधिकारी र  गोरेसहित यसअघि २९ जना पूर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस