काँग्रेस सभापति देउवाको गाउँबाट अबैध हतियारसहित चारजना पक्राउ

विहीबार, १७ जेठ २०७५, १६ : ५३
काँग्रेस सभापति देउवाको गाउँबाट अबैध हतियारसहित चारजना पक्राउ

डडेल्धुरा । पुर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गाउँबाट हतियारसहित चा।रर जना पक्राउ परेका छन् । अबैध हतियार तीन थान भरुवा बन्दुकसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले विहिबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरी प्रहरीले गन्यापधुरा गाउँपालिका–३ कान्तिपुरका ३५ वर्षीय केशवबहादुर शाही, ५३ वर्षीय शंकरबहादुर शाही, २९ वर्षीय कर्णबहादुर भूल र ३० वर्षीय टेकबहादुर भूललाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले गन्यापधुरा गाउँपालिका–३ का दुई वटा घरमा लाइसेन्सबिनाका अवैध भरुवा बन्दुकहरू लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका अधारमा दुई घरबाट तीन थान बन्दुकसहित उनीहरूलाई पक्राउ गरेको बताए ।

प्रहरीका अनुसार केशवबहादुरले कर्णबहादुर र टेकबहादुरको अवैध एकनाले दुई थान भरुवा बन्दुक लुकाउनमा सहयोग गरेका हुन् । ‘पक्राउ परेकासँग लाइसेन्स छ भन्ने पनि सुनिएको छ,’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘हामी अनुसन्धानमै छौँ ।’

पक्राउ परेकाहरू अपराधिक समूहका नभएको प्रहरी नायव उपरीक्षक जोशीले बताए । उनीहरू शिकारी हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस