रत्ननगर र खैरहनीमा छुट्टाछुट्टै इकाई समिति गठन

मंगलबार, १५ जेठ २०७५, १९ : ०१
रत्ननगर र खैरहनीमा छुट्टाछुट्टै इकाई समिति गठन

रत्ननगर । चितवन उद्योग संघ अन्तर्गत रही रत्ननगर क्षेत्रमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको प्रारम्भिक भेलाले रत्ननगर इकाई समिति गठन गरेको छ । भेलाले गजेन्द्र अधिकारीको संयोजकत्वमा दुई महिला सहित ९ सदस्यीय इकाई समिति गठन गरेको हो । समितिको सदस्यहरुमा गोविन्द प्रसाद खनाल, हरिशरण पाठक, विकास अमात्य, वेदप्रसाद भट्टराई, मिना उप्रेती, प्रमिला पोखरेल, सुरज पौडेल रहनु भएको छ ।
संघका अध्यक्ष भेषराज दुवाडीले रत्ननगर इकाई समितिका पदाधिकारीहरुलाई सपथ खुवाउनु भएको थियो । कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दवाडी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि दवाडीेले चितवन उद्योग संघले रत्ननगर क्षेत्रका व्यवसायीहरुलाई एकजुट गराएर महत्वपूर्ण काम गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले उद्योगीहरुका हरेक समस्याहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष दुवाडीले प्रमुख अतिथिलाई ज्ञापनपत्र समेत बुझाउनु भएको थियो । नवनिर्वाचित समितिका संयोजक गजेन्द्र अधिकारीले प्रतिवद्धता मन्तव्य राखेको कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी वासुदेव खतिवडा, उद्योग वाणिज्य संघ रत्ननगरका उपाध्यक्ष रघुनाथ भट्ट, नेपाली काँग्रेसका प्रतिनिधि भुपेन्द्र अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई संघका उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्यसँगै समापन गर्नुभएको थियो ।
त्यस्तै खैरहनीका व्यवसायीहरुको प्रारम्भिक भेलाले प्रतिभा श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय खैरहनी इकाई समिति गठन भएको छ । जसको सदस्यहरुमा टिकादत्त अधिकारी, तारा पाठक, कैलाश गुप्ता, रामकृष्ण खतिवडा, जितबहादुर सेढाई, केशवराज खनाल, युवराज पाठक, डोलबहादुर कार्की, आनन्द सडौला, शिवप्रसाद चिमरिया रहनुभएको छ । संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरी प्रमुख अतिथि रहनु भएको थियो ।
संघका अध्यक्ष दुवाडीले खैरहनी इकाई समितिका पदाधिकारीहरुलाई सपथ खुवाउनु भएको थियो । कार्यक्रममा संघका अध्यक्ष दुवाडीले प्रमुख अतिथि चौधरीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो । इकाई समिति गठन कार्यक्रममा चितवन उद्योग संघका गभनिङ्ग काउन्सिलका संयोजक ताराप्रसाद पौडेल, संघका निवर्तमान अध्यक्ष भिमबहादुर पाण्डे, चितवन उद्योग संघका उपाध्यक्षहरु राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, राशी लामालगातयको उपस्थिति रहेको थियो । कार्यक्रमलाई खैरहनी इकाई समितिका संयोजक प्रतिभा श्रेष्ठले प्रतिवद्धता सहित समापन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस