एन्फा निर्वाचनः यी हुन् दुई समूहका उम्मेदवार

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १३ : ४७
एन्फा निर्वाचनः यी हुन् दुई समूहका उम्मेदवार

काठमाडौं । नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ(एन्फा) को चार वर्षे कार्यकालको लागि भोलि (सोमबार) निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजाले आगामी चार वर्ष एन्फा हाक्ने २१ सदस्यीय कार्यसमिति पाउँनेछ । 

अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ समूहसहित प्रतिस्पर्धाको मैदानमा उभिएका छन् । यस्तै, फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेल समेत अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । 

नेपाली खेलकुद क्षेत्रमै बढी चलायमान र धेरै बजेट हुने संघ हो, एन्फा । यसले गर्दा एन्फा जहिल्यै चर्चाको शिखरमा रहने गर्छ । पूर्वअध्यक्ष गणेश थापाको २२ वर्ष कार्यकाल पछि नरेन्द्र श्रेष्ठ हुँदै कर्मा छिरिङको समूह एन्फाको नेतृत्वमा आएको थियो । तर, थापाको नेतृत्वलाई चिर्दै एन्फामा आएका कर्मा र पंकज नै यतिबेला प्रतिस्पर्धाको मैदानमा छन् । दुवैले समूह बनाएर नै एक अर्कालाई सक्काउने मनस्थिति बनाएका छन् । 

अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी पर्दा एक वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३५ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको समूहबाट बी डिभिजन क्लब सरस्वती युथका अध्यक्ष शिक्षित पराजुलीले वरिष्ठ उपाध्यक्षमा आफूलाई प्रस्तुत गरेका छन् । यस्तै, चार उपाध्यक्षमा पूर्वखेलाडी तथा वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह, पूर्वखेलाडी विज्ञानराज शर्मा, दीर्घबहादुर (कुमार) केसी र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

१३ सदस्यका लागि अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनिष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रविवण कुमार यादव, रामराज गुरुङ, मणि राज विष्ट, टिका लामा र महिला तर्फ पेमा डोल्मा लामा र विना श्रेष्ठ छन् । 

यता, पंकज नेम्बाङ पक्षबाट बरिष्ठ उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल संघका प्रतिनिधि तथा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदारी दिएका छन् । 

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष तथा पूर्व खेलाडी विराटजंग शाही, बी डिभिजन क्लब प्लानिङ ब्वाइज क्लबका अध्यक्ष दावा लामा, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा र ए डिभिजन क्लब न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

सदस्य पदमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिलि, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रविन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वरकुमार राउत सहित महिलामा वृन्दा देवान र सरला श्रेष्ठ छन् ।

यता, सदस्य पदका लागि केहि स्वतन्त्र उम्मेदवार समेत रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस