सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस(फोटोफिचर)

मंगलबार, १५ जेठ २०७५, १३ : ३९
सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस(फोटोफिचर)

तस्बिर : रासस

काठमाडौं । आज ११ औं गणतन्त्र दिवस मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी ११ औं गणतन्त्र दिवस मनाइएको हो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक–एक जोडी परेवा उडाएका थिए । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गरेका थिए ।

सैनिक मञ्चमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भन्दै सुशासन र विकास आजको प्राथमिकता भएको बताएका छन् ।
 

प्रधानमन्त्रीले त्यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने जानकारी दिए ।
गणतन्त्रलाई संस्थागत गर्न, संविधानलाई कार्यान्वन गर्न र लोकतन्त्रलाई सुदृढ गर्न तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गर्दै  केन्द्रमा प्रगतिशिल, देशभक्त र जनपक्षीय सरकार र सातै प्रदेश तथा ७५३ स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशिल रहेको बताए ।

‘सुशासन र विकासको प्रतिबद्धतासहित संसदबाट सर्वसम्मतीले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । यसबाट राष्ट्रिय आकांक्षाको परिपूर्तिको दिशामा अघि बढ्न, राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति हामीलाई भएको छ,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर नेपालीले लडेर स्थापना गरेको जीवन पद्धति भएको बताए ।


‘कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईंहरुको चाहना यस घोषणाबाट सम्बोधन गरिएको थियो,’ प्रधानमन्त्रीले भने, ‘कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहीत छ । जनतालाई जनता हैन रैति ठानिन्थ्यो । देशको मूल कानूनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तिको पर्चा जस्तो माानिएको थियो ।’

प्रतिक्रिया दिनुहोस