आज गणतन्त्र दिवस

मंगलबार, १५ जेठ २०७५, ०१ : ००
आज गणतन्त्र दिवस

काठमाडौँ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको छ वर्ष पूरा भएको अवसरमा आज नेपालमा गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ ।

सो दिवसका सन्दर्भमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा घोषित कार्यक्रमअनुसार जेठ १४, १५ र १६ गते राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम आयोजना निर्णय गरेको छ ।

कार्यक्रमअन्तर्गत जेठ १४ गते विभिन्न सञ्चारमाध्यमबाट गणतन्त्र दिवसबारे प्रचारप्रसार, पत्रपत्रिकामा गणतन्त्र विशेषाङ्क प्रकाशन, गणतन्त्रको महत्व सम्बन्धमा परिसंवादलगायतका कार्यक्रम राखिएको थियो ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन बिहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एवम् गणतन्त्र मूल समारोह समितिका अध्यक्ष सुशील कोइराला, विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारीलगायतको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिँदै छ ।
त्यस्तै जेठ १६ गते रेडियो नेपालबाट फूलबारी सम्मेलन, दीपावलीलगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । तीन दिनसम्म भव्यरुपमा मनाउने गरी घोषित अन्य कार्यक्रमअनुसार विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा विभिन्न कार्यक्रम आयोजनाका साथै उपत्यका बाहिरका जिल्ला र स्थानीय तहमा पनि विभिन्न कार्यक्रमका साथ राष्ट्रिय दिवसका रुपमा कार्यक्रम गरिएको मूल आयोजक समितिले जनाएको छ । -रासस

प्रतिक्रिया दिनुहोस