सशस्त्र प्रहरीका असई पक्राउ

सोमबार, १४ जेठ २०७५, १८ : ३७
सशस्त्र प्रहरीका असई पक्राउ

काठमाडौं । सशस्त्र  प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) विशाल खड्का सुन ब्यापारी लुटपाटमा संलग्नताको आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी हेड्क्वार्टर खेलकुद शाखामा कार्यरत असई खड्कालाई काठमाडौंको सुन्धारास्थित एक होटलमा सुन ब्यवसायी लुटपाटमा संलग्न भएको अभियोगमा नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिएका छन् ।
 
बालाजु स्थित मनमैजु स्थायी घर भएका खड्कालाई काठमाडौं प्रहरीले जबर्जस्ती चोरी डाँका र संगठित अपराध मुद्दामा अनुसन्धान शुरु गरेको छ । २०७४ चैत २३ गते सुन्धारास्थित होटल मेजेस्टीमा पर्साको बिरगञ्ज महानगरपालिका–१३ का सुन ब्यापारी मुन्ना कुमार सोनारलाई असई खड्का सहित ७ जनाले धारिलो हतियार देखाएर लुटपाट गरेको डिएसपी थापाले बताएका छन् ।
 
मुन्ना सोनार सुन गाल्नका लागि काठमाडौं आएको बेला उनले चिनेजानेको अविनाश शाह र असई खड्का सहितका सात जना सोनार बसेको मेजेष्टी होटलमा पुगेका थिए । होटलको कोठामा पुगेको लुटेरा समुहले धारिलो हतियार देखाएर डर, धक्की दिँदै मुन्नाको साथमा रहेको करिब १ किलो सुन, ११ लाख नगद र मोवाईल लुटपाट गरेर फरार भएका थिए ।
 घटना घटेको केही दिनमै अविनाश पक्राउ परेका थिए । प्रहरीले आईतबार विशाल खड्का र प्रविण गिरीलाई पनि  नियन्त्रणमा लिएको हो । लुटपाटमा संलग्न ३ जना अझैं फरार छन् ।

प्रतिक्रिया दिनुहोस