विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

आइतबार, १३ जेठ २०७५, १८ : ५८
विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

भरतपुर । भरतपुरबाट काठमाडौंका लागि उडेको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ । आइतबार दिउँसो ४ बजेर १० मिनेटमा भरतपुरबाट उडेको यति एयरको जेट स्टिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो । विमानस्थल नजिक भरतपुरको रिजालचोकमाथि पुग्दा विमानमा सानो भंगेरो जातको चरा इञ्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रबन्धक राजेश सिंहले जानकारी दिनुभयो ।  

यति एयरलाइन्सको नाईन एन एआईएस कल साइनको जहाज २२ जना यात्रु लिएर काठमाडौंका लागि उडेको थियो । प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने बित्तिकै इञ्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै  भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराउनु भएको थियो । समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ । विमानका सबै यात्रु सकुशल रहेका छन् ।

यात्रुहरुलाई अर्काे विमान झिकाएर काठमाडौं पठाइएको सिंहले जानकारी दिनुभयो । अर्को विमानमा इञ्जिनियरहरु पनि आएका छन् । उनीहरुले चरा ठोक्किएको विमानको परीक्षण गरेपछि उक्त विमानले उडान भर्न सक्ने कि नसक्ने भन्ने यकिन हुने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस