यातायातमन्त्री सम्पत्तिले पनि महासेठ

शनिबार, १२ जेठ २०७५, १८ : १३
यातायातमन्त्री सम्पत्तिले पनि महासेठ

काठमाडौं । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र विवरण सार्वजनिक गर्नुपर्ने सुशासन ऐनको प्रावधान भएपनि सरकार गठन भएको ९० दिनपछि बल्ल प्रधनमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति सार्वजनिक भएको छ । कम्युनिष्ट सरकारका अधिकांश मन्त्रीहरुसँग तोलाका तोला सुन, घर, जग्गा, गाडी र शेयरमा लगानी रहेको पाइएको छ ।
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएपछि सर्वाधिक चर्चामा रहेका छन् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ । आफूलाई गरीब जनताको अग्रदूतको रुपमा दाबी गर्ने मन्त्री महासेठको सम्पत्ति विवरण अस्वाभाविक देखिन्छ । नामैले महासेठ यातायातमन्त्री सम्पत्तिका हिसाबले पनि महासेठ देखिएका छन् । मन्त्रीहरुमध्ये सबैभन्दा बढी सम्पत्ति उनैको देखिएको छ । चप्पल लगाएर काठमाडौँ छिरेका महासेठको सार्वजनिक सम्पत्तिभन्दा बढी सम्पत्ति रहेको स्रोतको दाबी छ ।
आर्थिक समृद्धि र समाजवादको नारा अगाडि सारेको वर्तमान सरकारको सबैभन्दा धनी मन्त्रीका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार मन्त्री महासेठका  तीन वटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन रहेको छन् । २७ तोला सुन पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेश गरेको सम्पति विवरणमा उल्लेख छ । महासेठको अधिकांश सम्पति श्रीमतिका नाममा रहेको देखाएका छन् ।

मन्त्री महासेठका जनकपुरमा दुईवटा र ललितपुरमा एउटा घर रहेको विवरणमा छ । ती घरहरु जनकपुरका घरको क्षेत्रफल ४२ र ६५ सय बर्गफिटमा फैलिएको छ भने ललितपुरको ५८ सय वर्गफिटमा फैलिएको छ । त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक भएको छ । धनुषा, ललितपुर र सिन्धुलीमा ४१ विगाहा भन्दा बढि जमिन रहेको पाइएको छ ।

धनुषाको क्षिरेश्वर नगरपालिकामा ८ विगाहा, सिन्धुलीको कमलामाई नगरपालिकामा ५ विघा तीन कठ्ठा र  ललितपुर महानगरपालिकामा २–१३–३– क्षेत्रफलको जमिन पनि छ । ललितपुरकै धोवीघाटमा एक रोपनी भन्दा बढि जमिन रहेको छ । केही सम्पत्ति मन्त्री महासेठले सगोलको भएको विवरणमा खुलाएका छन् । यातायातमन्त्री महासेठको ५३ तोला सुन, डेढ केजी चाँदी , सातवटा औठी २ जोर चुरा लगायत र ७२ लाख नगद रहेको पाइएको छ । त्यस्तै मन्त्री महासेठको करोडौ रुपैयाँ बरारको शेयर लगानी रहेको छ ।
काठमाडौँको नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय सहकारी संस्था समेत उनैको नाममा रहेको छ । यो संस्थाले बसपार्कमा पछिल्लो समयमा एकाधिकार चलाइरहेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्न दिनरात लागिपरेको बेला यातायातमन्त्री महासेठ भने एकाधिकार कायम राखी राख्न लागिपरेका छन् । उनको संस्थाले टिकट काट्ने देखि यात्रु ठग्ने सम्मको काम गरेको भन्दै प्रधानमन्त्री केपी ओली समक्ष उजुरी समेत परेको र त्यस उजुरीमाथि छानबिन नभएको स्रोतको दाबी छ ।
मृत अवस्थामा रहेको युटिएल नेपालमा समेत महासेठको लगानी रहेको छ । सो कम्पनीमा रहेका करिब २४ प्रतिशत शेयर उनै महासेठको भएपनि सम्पत्ति विवरणमा उनले त्यो देखाएका छैनन । यस्तै केही यातायात कम्पनीमा समेत महासेठ संलग्न रहेका छन् । तर ती कुनै पनि विवरण उनले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छैन । नवधनाढ्यका रुपमा उदाएका महासेठ प्रधानमन्त्री केपी ओलीका खास मान्छे हुन् ।
तराई मधेशमा परेका अधिकांश सरकारी परियोजनाको ठेक्कादेखि अन्य काम समेत उनै महासेठले लिने गरेका छन् । बहुदल स्थापना पछि अधिकाशं समय मन्त्री तथा उच्च लाभको पदमा पुगेका महासेठको उदयलाई तराई मधेशका जनताले समेत अस्वाभाविक रुपमा लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस