मापदण्ड विपरीतका संरचना हटाउँदै बागलुङ नगरपालिका

शनिबार, १२ जेठ २०७५, ०८ : २८
मापदण्ड विपरीतका संरचना हटाउँदै बागलुङ नगरपालिका

बागलुङ । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।

वडा नं २ को शिवधारा चोकबाट त्यस्ता संरचना हटाउन शुरु गरिएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । सडकलाई मापदण्डमा ल्याइएपछि आवश्यकतानुसार कालोपत्रे तथा ढलान गरिने उहाँको भनाइ छ । “मापदण्ड विपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ,” उहाँले भन्नुभयो, “स्थानीयवासीसँगको समन्वयमा काम अघि बढेको छ ।” सडक विस्तार अभियानमा नगरवासीको कुनै अवरोध नरहेको उहाँको भनाइ छ ।

शिवधाराचोकदेखि वडा नं २ कै क्याम्पस चोकसम्मको सडक विस्तार र सुधारको काम रु ३४ लाखको लागतमा गर्न लागिएको छ । सदरमुकामभित्रका अन्य सडकलाई पनि विस्तार गर्ने योजनामा नगरपालिका छ । “नक्सा स्वीकृतिमा भन्दा बढी जग्गा मिचेर बनेका संरचना हट्छन्,” नगरप्रमुख पौडेलले भन्नुभयो, “अर्को वर्षसम्म नगरका सबै सडक र चोक फराकिला बनाउँछौँ ।” शुरुमा सडकलाई व्यवस्थित गरेर मात्र अन्य शहरी विकासका कामलाई अघि बढाइने उहाँको भनाइ छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस