भरतपुरमा स्काई रेलका लागि पहल

शुक्रबार, ११ जेठ २०७५, १३ : १४
भरतपुरमा स्काई रेलका लागि पहल

चितवन  । भरतपुर महानगरपालिकामा स्काई रेल संचालनका लागि पहल सुरु गरिएको छ । भरतपुर महानगरमा स्काई रेल संचालन गर्न बिहीबार चीनको चाइना न्यू इनर्जी स्काई रेल ग्रुपसँग छलफल गरिएको छ । भौतिक योजनामन्त्री रघुवीर माहासेठ, नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम, सांसद कृष्णभक्त पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ लगायतको टोलीले स्काई रेल ग्रुपसँग छलफल गरेको हो ।

छलफलबाट चिनियाँ कम्पनी भरतपुरमा स्काई रेल संचालन गर्न सकारात्मक देखिएको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । एकसाताभित्रै कम्पनीले भरतपुरमा स्काई रेल संचालन सम्बन्धी सम्भाव्यता अध्ययन गर्ने उहाँले बताउनु भयो । भरतपुर महानगरपालिकाभित्र सोलारबाट चल्ने स्काई रेल संचालनका लागि तिब्रताका साथ काम गरिने पोखरेलले बताउनु भयो । भरतपुर महानगरभित्रको रिङरोडमा स्काई रेल सञ्चालन गर्न सकिने उहाँको भनाई छ ।

‘कुन कुन ठाउँमा मोनो रेलले सुविधा दिन सक्छ ? कति खर्च लाग्छ ? ती सबै कुराको अध्ययनपछि थाहा हुनेछ’ सांसद पोखरेलले भन्नुभयो, ‘यसले प्रदूषण पनि कम हुनेछ भने साना सवारी साधन स्वतः विस्थापित हुनेछन् ।’ ट्राफिक समस्या समाधानका लागि पनि स्काई रेल निकै उपयोगी हुने पोखरेलले बताउनु भयो ।

चिनियाँ कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र दुई वर्ष समय लाग्छ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्छ । स्काई रेलमा तीन वटा डिब्बामात्र राख्न सकिन्छ । रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्छन् ।

 

प्रतिक्रिया दिनुहोस