सबै जातजाति, भाषाभाषी र समुदायलाई एकताबद्ध गराइन्छ : प्रचण्ड

विहीबार, १० जेठ २०७५, १९ : ३४
सबै जातजाति, भाषाभाषी र समुदायलाई एकताबद्ध गराइन्छ : प्रचण्ड

बनेपा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मुख्य दायित्व राष्ट्रलाई नै एकताबद्ध गर्ने रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रचण्डी नालाको चुनातालमा आज दाहाल बन्धु अध्ययन प्रतिष्ठान केन्द्रीय कार्यालयको उद्घाटन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आफैँभित्र एकता गर्न सकेनाँै भने अरुलाई एकता गराउँछौँ भन्नु आदर्शवादी मात्रै हुनेछ, त्यसैले आफूसँगै सबै जातजाति, भाषाभाषी, क्षेत्र र समुदायलाई एकताबद्ध गराएर नयाँ सामाजिक सद्भाव र संस्कृतिको विकास गर्ने बाटोमा लाग्न आवश्यक छ ।” उहाँले देशभरीको दाहाल वंशावलीको खोजी र त्यसलाई पूर्णतातिर लैजाने काममा आफ्नातर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले शहीद भीमसेन दाहालका नामबाट बनेको नाला–नगरकोट सडकखण्ड निर्माणको काम अगाडि बढाउन आफूले जिम्मा लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब यो काम अगाडि बढ्नेछ, त्यससँगै नाला क्षेत्रको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासको लागि सक्दो सहियोग गर्नेछु ।”

अध्यक्ष दाहालले नेकपाका सबै जनवर्गीय संगठनको एकताका लागि कार्यदल बनाएर काम अघि बढिसकेकाले तीन महिनाभित्रै जनवर्गीय संगठनको एकता सकिसक्ने बताउनुभयो । उहाँले प्रदेश नं ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लामा राख्ने भन्ने विषयमा धेरैको सहमति रहे पनि अधिकार क्षेत्र प्रदेशसभाकै भएकाले सोही निर्णयबाट नै टुंगो लाग्ने बताउनुभयो । सो अवसरमा अध्यक्ष दाहालले ‘दाहाल वंशावली’ पुस्तक विमोचन गनौका साथै नाला– नगरकोट सडकखण्डअन्तर्गत बनेपा नगरपालिका वडा नं ३ र ४ जोड्ने पुल उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागार्इँले निर्वाचनको बेला गरिएको शान्ति, सुशासन र समृद्ध काभ्रे बनाउने विषयको प्रतिबद्धता पूरा गर्न प्रदेश र केन्द्रमा आफ्नातर्फबाट प्रतिवेदन पेश गरिसकेको बताउनुभयो । उहाँले काभ्रेको नाला –काशीभञ्ज्याङ– हिगुवापाटी सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नेपाली जनताले खोजेको समृद्धिको बाटो र लामो समयदेखि खेप्दै आएको दुःखकष्टलाई बुझेर नेपाली समाजको आमूल परिवर्तनका लागि लाग्नुपर्नेमा अप्ठ्यारो बाटामा हिँड्नुपर्ने अवस्था सिर्जना नगर्न नेकपामा अध्यक्षद्वयसँग आग्रह गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस