काठमाडौं । तेस्रो वरीयाताप्राप्त जर्मनीका एलेक्जेन्डर जेरेभले फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा स्थान बनाउँदा दुईपटक फाइनल खेलेका डोमिनिक थिम भने पहिलो चरणबाटै बाहिरिएका छन् ।
क्ले कोर्टमा जारी प्रतियोगितामा जेरेभले अष्ट्रियाका सेबास्टिन अफ्नरलाई ३–० को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन् । २५ वर्षीय जेरेभले ६–२, ६–४ र ६–४ को स्कोरमा विजयी भए ।जेरेभले गत सिजन सेमिफाइनलमा स्थान बनाउन सफल भएका थिए । जेरेभले अब सर्बियाका डुसान लाजोभिक र अर्जेन्टिनाका सेबास्टिन बाइजबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
दुईपटक फ्रेन्च ओपनको फाइनल खेलेका थिम पहिलो चरणमै बोलिभियाका ह्युगो डेलिएनसँग ६–३, ६–२ र ६–४ को सेटमा पराजित भए । थिमले सन् २०१६ र २०१७ मा फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाएका थिए । उनी गत सिजन पनि पहिलो चरणबाटै बाहिरिएका थिए ।फ्रेन्च ओपनको पहिलो दिन पुरुष एकलतर्फ अमेरिकाका जोन इस्नरले फ्रान्सका क्विनटेन हालेसलाई ३–१ को सेटमा हराए । प्रतिस्पर्धात्मक बनेको खेलमा इस्नरले ७–६(७/३), ४–६, ७–६(७/१) र ७–६(८/६) को सेटमा विजय हासिल गरेका हुन् ।
नवौँ वरीयाताप्राप्त क्यानडाका फेलिक्स औगर–एलियससिमेले दोस्रो चरणमा स्थान बनाउन संघर्ष गर्नुपर्यो । उनले पेरुका जुवान पाब्लो भारिलससँग पहिलो दुई सेट गुमाएर पनि पुनरागमन गरेका थिए । २१ वर्षीय फेलिक्सले २–६, २–६, ६–१, ६–३ र ६–३ को सेटमा विजय हासिल गरेका हुन् । फेलिक्सले २०२१ मा विम्बल्डनको क्वार्टरफाइनल र यूएस ओपनको सेमिफाइनल खेलेका थिए । उनले यसै वर्ष पनि अष्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका थिए ।
पहिलो दिन १८औँ वरीयाताप्राप्त बुल्गेरियाका ग्रिगोर दिमित्रोभ र क्रोएसियाका बोर्ना कोरिकले पनि दोस्रो चरणमा स्थान बनाए । त्यस्तै, १५औँ वरीयाताप्राप्त अर्जेन्टिनाका डिएगो स्चवार्टमन, स्पेनका जाउमे मुनर, उरुग्वेका पाब्लो कुएभास र स्लोभेनियाका अल्जाज बेडेनेले पनि दोस्रो चरणमा स्थान बनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, १२ : ५३
लेखकबाट थप