काठमाडौं । जारी सिजनमा युगान्डाविरुद्धको पाँचौं तथा अन्तिम टी २० खेलमा नेपालले एक सय २४ रनको लक्ष्य दिएको छ ।कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २३ रन बनाएको हो । खेलमा नेपालले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्यो ।
जारी सिरिजमा नेपाली टिमले पहिलो विकेटका लागि गरेको उच्च साझेदारी हो । नेपालकी ओपनर सिता रानामगर ब्यक्तिगत १७ रनमा बोल्ड भइन् ।नेपालले पावरप्लेमा ३६ रन बनाएको थियो । नेपालको स्कोर ८२ रन हुँदा दोस्रो विकेट गुमायो । उपकप्तान इन्दु बर्मा आठ रनमा आउट भइन ।
त्यसपछि ज्योती पाण्डे अर्धशतक बनाउन एक रनबाट चुकिन् । उनी ४९ रनमा आउट हुँदा नेपालले ९६ रनमा तेस्रो विकेट गुमायो ।त्यसपछि कप्तान रुविना क्षेत्रीले खाता खोल्न नसक्दै आउट हुँदा नेपालले ९८ रनमा चौथो विकेट गुमायो । नेपालको स्कोर एक सय तीन रन हुँदा पाँचौं विकेट झर्यो ।
डोलि भट्ट खाता खोल्न नपाउँदै रनआउट भइन । नेपालका लागि कविता जोशीले १८ रन बनाइन । उनले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरिन् । यस्तै अप्सरी बेगमले ११ रन जोडिन् ।
युगान्डाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।अन्तिम खेल नेपालका लागि प्रतिष्ठामा सीमित छ । युगान्डाले दुई खेल अगावै सिरिज जितिसकेको छ । दुबै टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने योजनामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ जेठ २०७९, १५ : ४४
लेखकबाट थप