नेपाली काँग्रेसको माग सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ

विहीबार, १० जेठ २०७५, १४ : २५
नेपाली काँग्रेसको माग सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएको छ । बिहीबारको संसदमा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै सांसद दिलेन्द्रप्रसाद बडुले यस्तो माग गरेका हुन् ।
सांसद बडुले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई सम्बोधन गर्न नसकेको गम्भिर आरोप पनि लगाए ।
सरकारले कार्यक्रमविनाको नीति मात्रै ल्याएको भन्दै त्यसलाई पुनर्लेखन गरेर पूर्णता दिनुपर्ने सांसद बडुको भनाई छ । सांसद बडुले सरकारको नीति तथा कार्यक्रममा अनावश्यक विषयले प्राथमिकता पाएको भन्दै आपत्ति समेत जनाए ।
यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद विशाल भट्टराईले भने सरकारले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने संकल्पसहित नीति तथा कार्यक्रम ल्याएको भन्दै बचाऊ गरे । उनले सरकारको नीति तथा कार्यक्रमले पूर्वाधार विकासमा जोड दिएको, सबै स्थानीय तहमा प्राविधिक शिक्षालाई स्थापना गर्ने योजना अघि सारेको भन्दै त्यसले जनताको अपेक्षालाई सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे ।

उनले सरकारको नीति तथा कार्यक्रममाथि विरोध गर्ने ठाउँ नरहेको दावी समेत गरे । राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारलाई कृषि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने अभियान संचालन गर्न सुझाव दिए । उनले सपना बाँडने भन्दा पनि जनताको अपेक्षा पूरा हुनेगरी सरकारले बजेट ल्याउनुपर्ने आवश्यक्ता रहेको बताए ।
सांसद कर्णले सरकारको नीति तथा कार्यक्रममा धेरै विषयलाई प्राथमिकता दिइएको भन्दै आलोचना पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस