काठमाडौं । इन्ट्राचट फ्रांकफर्टको युरोपा लिग जित्ने ४२ वर्षदेखिको प्रतीक्षा समाप्त भएको छ । जर्मन बुन्डेसलिगाको क्लब फ्रांकफर्टले बुधबार राति स्कटल्यान्डको रेन्जर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै युरोपा लिगको उपाधि जितेको हो ।
फ्रांकफर्टको गोलकिपर केभिन ट्रापले थप समयको अन्तिम मिनेटमा र पेनाल्टीमा उत्कृष्ट बचाउ गरेपछि जर्मन क्लब पेनाल्टीमा ५–४ ले विजयी भएको हो । खेलको निर्धारित ९० र थप ३० मिनेटको समय १–१ को बराबरीमा सकिएको थियो ।
रेन्जर्सले जो एरिबोको गोलबाट ५७औँ मिनेटमा अग्रता लिएको थियो । ६९औँ मिनेटमा फ्रांकफर्टका राफेल सान्टोस बोर्रेले बराबरी गोल फर्काएका थिए । उनै बोर्रेले पेनाल्टी सुटआउटमा पनि निर्णायक गोल गरेका थिए । रेन्जर्सका एरोन राम्से गोल गर्न चुके ।
योसँगै फ्रांकफर्टले सन् १९८० पछि पहिलोपटक युरोपा लिगको उपाधि जित्न सफल भयो । १९८० मा फ्रांकफर्टले उपाधि जित्दा प्रतियोगिताको नाम यूईएफए कप थियो । जितसँगै फ्रांकफर्टले अर्को सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । फ्रांकफर्टले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको यो पहिलोपटक हो ।
‘‘यो अविश्वसनीय छ,’’ फ्रांकफर्टका गोलकिपर ट्रापले भने, हाम्रो र सम्पूर्ण जर्मनीको लागि यो अद्भूत उपलब्धि हो । समर्थकहरू उपाधि सहत घर फर्किन पाउनु आफैँमा ठूलो उपलब्धि हो ।’’युरोपा लिगमा अपराजित उपाधि जित्ने फ्रांकफर्ट तेस्रो टिम बनेको छ । यसअघि, चेल्सीले २००९ र भियारियालले २०२१ मा त्यो सफलता हासिल गरेका थिए ।
रेन्जर्सले १९७२ मा यूईएफए कपको उपाधि जितेको थियो । त्यसपछि पहिलो उपाधि जित्ने रेन्जर्सको प्रयास पुनः असफल भयो । यसअघि, २००७/०८ मा पनि रेन्जर्सले फाइनल खेलेको थियो । त्यति बेला पनि रेन्जर्सले उपविजेतामा चित्त बुझाउनुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, १२ : ३४
लेखकबाट थप