यस्तो छ प्रधानमन्त्री ओलीको सम्पत्ति विवरण : बैंकमा ४२ लाख, घरजग्गा श्रीमतीको नाममा

बुधबार, ०९ जेठ २०७५, १६ : ३४
यस्तो छ प्रधानमन्त्री ओलीको सम्पत्ति  विवरण : बैंकमा ४२ लाख,  घरजग्गा श्रीमतीको नाममा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ओलीको नाममा बैंक खातामात्रै देखाइएको छ ।  घरजग्गा  तथा शेयर लगायतका विवरण भने श्रीमती राधिका शाक्यको नाममा रहेको छ ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार भक्तपुरको सूर्यबिनायक–२ का स्थायी बासिन्दा ओलीको १ रोपनी क्षेत्रफलमा फैलिएको ३ तल्ले घर रहेको छ यस्तै सोहि स्थानमा आधा रोपनी क्षेत्रफलमा फैलिएको  अर्को घर पनि रहेको छ । दुबै घर स्वआर्जनमा खरिद गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसैगरी राधिका शाक्यकै नामा  झापाको पृथ्वीनगरमा  स्वआर्जनले १० कठ्ठा जमिन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।  यस्तै स्वआर्जनमा १७–१८ तोला  सुनका विभिन्न गरगहना भएको, राधिका शाक्यको नामा माछापुच्छ्रे बैंकमा  ४ लाख रहेको, प्रभू बैंकमा पनि ६ लाख रहेको तगा ओली आफ्नै नाममा पनि एभरेष्ट बैंकमा ४२ लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।  ओलीको नाममा बैंकमा रहेको नगर तलब भत्ता वापत प्राप्त भएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै राधिका शाक्यकै नाममा  २५ लाखको राष्ट्रिय बचन पत्र रहेको पनि उल्लेख गरिएको छ । विवरणमा राधिका  नेपाल राष्ट्र बैंकको प्रथम श्रेणीको पूर्व कर्मचारी भएको पनि उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस